Aamsanchar

घाँसखेतीबाट राम्रो आम्दानी गर्दै दाङका किसान

Author Image
सोमवार, चैत १४, २०७८

फाइल तस्बिर

 

दाङ – दाङका किसानले घाँसखेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, दङ्गीशरण गाउँपालिका, राप्ती गाउँपालिका लगायतका ठाउँका कृषकहरुले व्यावसायिक रुपमा बरसिम घाँस खेतीबाट पशुपालनसँगै घाँस बेचेर राम्रो आम्दानी गरिरहेका छन् ।

पशुुका लागि घाँसको जोहो गर्न निकै सास्ती बेहोरेका घोराही उपमहानगरपालिका वडा नम्बर ६, ७, १७ लगायतका वडाका प्रायजसाे कृषकले अहिले व्यावसायिक रुपमा घाँस खेती गरिरहेका छन्। अन्य नगदेबालीको उत्पादन लागत बढी हुने हुँदा ती बालीको बिक्रीबाट हुने फाइदा भन्दा घाँसको बिक्रीबाट धेरै फाइदा हुने भएपछि घाँस खेती सुरु गरेको कृषकहरु बताउँछन् ।

घोराहीको ६ नम्बर वडाका ६ गाउँका कृषकहरुले हिउँदे बाली लगाउन छाडेर बिउ उत्पादनका लागि घाँस मात्रै लगाउने गरेको शिवशक्ति घाँस बिउ उत्पादक सङ्घका सचिव विमल अधिकारी बताउनुहुन्छ ।

धानमा भित्रि बालीको रुपमा घाँस छर्ने र बिउ लिनुअघि ६ पटकसम्म घाँस काटेर पशुलाई खुवाउन वा बिक्री गर्न मिल्ने भएकाले पनि कृषकहरु व्यावसायिक रुपमै घाँस खेती गर्न अग्रसर भएको पशुसेवा विज्ञ केन्द्र दाङले जनाएको छ । दाङमा उत्पादन भएको घाँसको बिउको उमार्ने शक्ति र गुणस्तर अरु जिल्लाको भन्दा निकै राम्रो भएकाले बाहिरी जिल्लाबाट धेरै माग हुने गरेको शिवशक्ति घाँस बिउ उत्पादक सङ्घ जनाएको छ।

अहिले दाङ बरसिम घाँसको बिउ ‘पकेट क्षेत्रको’ रुपमा विकसित हुँदै गएको छ । बिउ उत्पादनका लागि घाँसको खेती हुन थालेपछि उन्नत जातका पशुपालन गर्नेको सङ्ख्या पनि बढ्दै गएको पशुसेवा विज्ञ केन्द्र, घोराहीले जनाएको छ । घाँस खेती फस्टाउँदै गएपछि स्थानीय सरकारले पनि कृषकहरुलाई प्रोत्साहनका कार्यक्रम सुरु गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 320

प्रतिक्रिया (०)

सम्बन्धित खबर