

बिर्तामोड । बैशाख ३० गते का लागि घोषणा भएको स्थानीय तहको निर्वाचनमा इलामको माई नगरपालिकामा जनता समाज पार्टीले मेयर पदको उम्मेद्वारी घोषणा गरेको छ । जनता समाज पार्टीका माई नगरपालिका अध्यक्ष समेत रहेका टुपेन्द्र एक्तेनले आसन्न स्थानीय निर्वाचनका लागि मेयर पदको उम्मेद्वार घोषणा गरेका छन् । पार्टीले नगरका १० वटै वडामा उम्मेद्वारी दिने एक्तेनले बताएका छन् ।

उनले झापाको बिर्तामोडमा बुधवार पत्रकारसँगको भेटघाटका क्रममा मेयर पदको उम्मेद्वारी घोषणा गरेका हुन् । ‘नगरका बिकृति, बिसङ्गति, भष्ट्राचार र विकासका लागि मेरो मेयर पदमा उम्मेद्वारी हो’ मेयर पदका उम्मेद्वार घोषणा गरेका एक्तेनले भने ‘माई नगरपालिकाका १० वटै वडामा पार्टीले उम्मेद्वारी दिन्छ ।’ नगरमा ९ सय पार्टी सदस्य भएको बताउँदै पार्टीको दर्शन र लक्ष्यले जित्ने दावी गरे । ‘गाउँ–गाउँमा सिंह दरवार होइन सिंह छन्’ उनिहरु आफैमा चिथोर पाथर गरिरहेका छन् । त्यसैले आफूले मेयर पदमा जित्ने एक्तेनले दावी गरे ।

२०४८ सालदेखि राजनीतिकमा सक्रिय रहेको बताउँदै एक्तेनले जनता समाज पार्टीले जनता समक्ष गरेका प्रतिवद्धता पूरा नगरे मर्नु पर्ने बताएका छन् । ‘ पैसा कमाउन मेयर बन्न लागेको होइन’ उनले भने ‘जनताका सेवाका लागि मेरो उम्मेद्वारी हो ।’ मेयर पदको लागि ८० हजार रुपैयाँ मात्र खर्च गर्ने उनको भनाई छ । त्यो भन्दा वढी खर्च गर्न सक्नेले एमाले कांग्रेस जान समेत आग्रह गरे । उनले मेयर भएर आफ्नो होइन पालिकाको परिवर्तन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

गठबन्धन गर्ने सवालमा केन्द्रको सर्कुलर भएपनि अवस्था हेरेर गर्न सकिने बताएका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ६०४८, नेपाली कांग्रेसले ४४००, नेकपा माओवादीले १८०० र जसपाले १३०० मत ल्याएपनि यो निर्वाचनमा आफुले जित्ने दावी गरेका छन् ।

