विराटनगर – मोरङको पथरीशनिश्चरे नगरपालिका–१० की एक महिलामाथि आइतबार राति सुतेकै ठाउँमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट ५० वर्षीया हरिमाया घिमिरे घाइते भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार महिलाको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट छ । उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घर बाहिर बरण्डमा एक्लै सुतेकी घिमिरेमाथि राति १२ बजेतिर अज्ञात व्यक्तिले छुरा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटना हुँदा महिलाका छोरा–छोरी घरभित्र सुतेको र पति घरबाहिर रहेको पाइएको छ । छुरा प्रहार पछि फरार रहेकाको पहिचान नखुलेको डीएसपी श्रेष्ठले बताए । फरार रहेकाको खोजि भइरहेको र घटनाको अनुसन्धान सुरु भएको उनको भनाइ छ ।
लुटपाटको उद्देश्यले महिलामाथि आक्रमण गरिएको हो कि अन्य कारणले हो सोबारे खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।


