काठमाडौं : चर्च ब्वाइज क्लब ए डिभिजनमा बढुवा भएको छ।
बी डिभिजन अन्तरगत आज भएको खेलमा बाँसबारी युथ क्लबलाई ५–१ ले हराउँदै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएकाे हाे।
चर्च ब्वाइज अन्तिम चरणको खेल बाँकी हुँदै ‘बी’ डिभिजन लिग विजेताको हैसियतमा ‘ए’ डिभिजनमा बढुवा भएको हो। शीर्ष स्थानमा रहेको चर्च ब्वाइजले १२ खेलबाट २६ अंक जोडेको छ। दोस्रो स्थानको रानीपोखरी टिम (आरसीटी)भन्दा आठ अंकले बढी हो। आरसीटीले एक खेल कम खेलेको छ।
तेस्रो स्थानको सरस्वती युथ क्लबको १७ अंक छ। सरस्वतीले पनि एक खेल कम खेलेको छ। आरसीटी र सरस्वती पनि ‘ए’ डिभिजन लिगमा पुनरागमन गर्ने लक्ष्यमा छन्।
सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा भएको खेलमा चर्च ब्वाइजको जितमा साइमन लिम्बूले चार गोल गरे। आशिष चौधरीले एक गोल गरे।
चर्च ब्वाइज ०७५ सालमा ‘सी’ डिभिजन क्वालिफायर खेल्दै एन्फाको आधिकारिक प्रतियोगिताभित्र छिरेको थियो। ‘सी’ डिभिजन लिगमा छनोट भएको चर्च ब्वाइज पहिलो सिजनमै विजेता बन्दै ‘बी’ डिभिजन लिगमा उक्लिएको थियो। ‘बी’ डिभिजनमा पनि चर्च ब्वाइज पहिलो वर्ष नै शीर्ष डिभिजनमा बढुवा हुन सफल भयो।