दसैँ अर्थात् नेपालीहरुको महान चाड अनि नवरात्रिका रुपमा प्रसिद्ध सांस्कृतिक महत्व बोकेको पर्व । यो चैते दसैँ पनि असोज–कार्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार, पहिले–पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो । तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडुलले धेरैजना बिरामी परेपछि दसैँलाई वर्षको मध्यमा सारिएको मान्यता छ । जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन् । चैते दसैँलाई कतिपय ठाउँमा सानो दसैँ भन्ने चलन पनि छ । भारत, बंगलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ ।
वास्तवमा दसैँ भन्ने बित्तिकै दशमी भन्ने बुझिन्छ । तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिनेमा केन्द्रित रहन्छ । आजको दिन पनि तिथिका हिसाबले अष्टमी हो । दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रुपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झैँ विभिन्न शक्तिपीठहरुमा पशुबलि भोग दिने गरिन्छ ।
चैत शुक्ल अष्टमीका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतीदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्छ । तलेजु भवानी, हनुमान ढोका दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरुमा आज बलि दिइन्छ र यस्ता बलि दिने कार्यक्रममा नेपाली सेनाको समेत सहभागिता रहन्छ । बलिका क्रियाकलापहरु पर्यटकहरुले सार्वनजिक रुपमा हेर्न पाउँछन् । पर्यटकीय रुपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ । अर्कोतर्फ प्राचीन समयदेखि नै काठमाडौं उपत्यकाका यी देवालयहरुमा बलि चढाउने क्रम निरन्तर चलिरहेको छ । उपत्यका बाहिर पनि भगवती मन्दिरहरु अनि शक्तिपीठहरुमा समेत दर्शनार्थीको घुँइचो हुने गर्छ । कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्छ ।
आजकै दिन मर्यादा पुरूषोत्तम प्रभु श्री रामचन्द्र आफ्नो १४ वर्षे बनबास सकाएर अयोध्या फिर्नु भएको मानिन्छ । आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको बध गर्नुभएको थियो । यसरी रावणको बध गर्न देवी दुर्गाले रामलाई मद्दत गर्नुभएको थियो । आज राम अनि दुर्गा लगायत अन्य धेरै देवी–देवताको पूजा गरिन्छ । यी सम्पूर्ण कुराहरु उहाँको १४ वर्षे बनबासभित्रै भएको थियो । आज अर्थात् चैते दसैँका दिन उहाँको सकुशल आगमन भएकोमा अयोध्याबासी लगायत सबैले असत्यमाथि सत्यको जितको रुपमा चैते दशैं मनाएका हुन् भन्ने सामाजिक मान्यता छ ।
मुख्य दसैँमा झैँ चैते दसैँमा पनि दुर्गा पूजा गरी मिष्ठान्न भोजन चढाइन्छ । देवी मन्दिरहरुमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरु पाठ गरिन्छ । घरमा उपलब्ध खाद्यान्न परिकारहरुलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ । आज अशोकको फूल खाने गरिन्छ । फुल खाँदा रोगब्याधी नष्ट हुने आम विश्वास छ ।
छोरी चेली लगायत दिदी–बहिनी अनि कर कुटुम्भहरुलाई बोलाएर खुवाउने चलन छ । माशांहारीरुले माछा–मासु खाने चलन छ । यसका लागि बलि दिइन्छ भने शाहाकारीहरुले भने घिरौला, भाण्टा, कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर बलि दिने चलन छ ।