Aamsanchar

किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?

Author Image
शनिवार, चैत २६, २०७८

सेतो मच्छिन्द्रनाथ रथयात्रा : एउटा प्राचीन संस्कृति

काठमाडौंको असन र इन्द्रचोकबीचमा जनबहा द्यः को मन्दिर छ । जुन मन्दिर १० सौँ शताब्दीमा स्थापना भएको ऐतिहासिक मन्दिरका रुपमा लिइन्छ । काठमाडौं एउटा शहर मात्र होइन सभ्यता नै हो भने मच्छिन्द्रनाथ देवता मात्र नभएर काठमाडौंका एउटा संस्कारको केन्द्रबिन्दू हुन् । यिनै करुणामयी मच्छिन्द्रनाथलाई अवलोकितेश्वर पनि भनिन्छ । अवलोकितेश्वर अर्थात् समग्रताका देवता ।

अर्कोतर्फ अवलोकितेश्वर भन्नाले संस्कृतमा कमल बोकेका देवता भनेर पनि बुझिन्छ । पानीका यी देवता अनि पानीमै फूल्ने कमलको फूलको यो सम्बन्धलाई पनि यस जात्राले आत्मसात् गरेकै छ । बोधीसत्वका हरेक आयामहरु अवलोकितेश्वरसँग मिल्न आउँछन् । सेतो मच्छिन्द्रनाथ अर्थात अवलोकितेश्वर, ती भगवान जसले आफ्ना भक्तहरुलाई पृथ्वीलोकमा फर्केर हेर्दछन् । माया गर्छन् अनि माया बाँड्छन् । छैठौँ शताब्दीबाट शुरु भएको मानिएको यस जात्रालाई पछि आएर १७औँ शताब्दीपछी ब्यापक रुपमा प्रचलनमा ल्याइएको भएतापनि यसका यथेष्ट प्रमाणहरु पाइन्न । तथापि प्राचीनकालदेखि नै काठमाडौँ सभ्यता अर्थात् बागमती सभ्यताको मुटुका रुपमा सेतो मच्छिन्द्रनाथ रहिआएको कुरा इतिहास साक्षी छ ।

यस जात्रा नेपाल सम्वतको छैठौं महिना चौलाको ८ औं दिन शुरु भएर १०औँ दिनमा समापन हुन्छ ।

जनबहा द्यः जात्राका रुपमा सेतो मच्छिन्द्रनाथको जात्रा हरेक वर्ष मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर घुमाउने चलन छ । आउनुहोस् सबैभन्दा पहिले हामी कुरा  गरौं यस जात्राको मनाउनु पछाडिका ऐतिहासिक मान्यताकाबारेमा

किन मनाइन्छ त सेतो मच्छिन्द्रनाथको जात्रा ?

यक्ष मल्लको शासनकालमा कान्तिपुरी नगरीमा खोलामा स्नान गरेर पवित्र भएर स्वयम्भूनाथको दर्शन गर्ने र यसो गर्दा मृत्युपर्यन्त स्वर्ग जाने विश्वास थियो । एक दिन मृत्युका देवता यमराजले स्वयम्भूनाथको यो शक्तिबारे जानकारी पाएर आफू स्वयं स्वयम्भूनाथमा दर्शन गर्न आउँछन् । यमराज यसरी स्वयम्भूनाथमा दर्शन गर्न आउँदा राजा यक्ष मल्लले यमराजलाई बन्दी बनाएर राख्छन् ।

यसरी बन्दी भएपश्चात् यमराजले आफ्नो मुक्तिका लागि आर्य अवलोकितेश्वरको प्रार्थना गर्छन् । यमराजको प्रार्थना सुनेपछि अवलोकितेश्वर स्वयं पानीबाट प्रकट भएर दर्शन दिन आउनुहुन्छ । सेतो रगंका अनि आँखा आँधी बन्द भएका यी भगवानले कालिमाटी र बागमतीमाका उनलाई भेटन राजा यक्ष मल्ललाई मन्दिर बनाउन आज्ञा दिन्छन् । अनि वर्षेनी यिनै अवलोकितेश्वर भगवानको महिमाका लागी रथ यात्रा र प्रार्थना गर्ने चलन स्वरुप प्राचिनकालदेखि नै सेतो मच्छिन्द्रनाथको जात्रा गर्ने चलन काठमाडौंमा शुरु भएको मानिन्छ ।

यसो गर्नाले खुशी अनि लामो जीवनको वरदान पाइने विश्वास छ । चैत्र महिनाको शुक्ल पक्ष अष्टमीमा शुरु हुने यस रथयात्रा ३ दिनको पर्व स्वरुप हुने गर्दछ । सेतो मच्छिन्द्रनाथको प्रतिमालाई रथमा राखेर एक ठाउँबाट अर्को ठाउँसम्म लगिन्छ । हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरुले तोप पड्काएर जनाऊ दिने चलन छ ।

काठमाडौंको जमलमा पहिलो दिन रथलाई विश्राम गराइन्छ । अनि रत्नपार्क हुँदै भोटाहिटी र असन दोश्रो दिन पु¥याइन्छ । यसैगरी अर्को दिन अर्थात् तेश्रो दिन मरुहिटी र जैसीदेवल हुँदै लगनटोल पु¥याइन्छ । यी तीनै दिन भक्तालुहरुले सेतो मच्छिन्द्रनाथप्रतिको आफ्नो अगाध स्नेह र आस्था अभिव्यक्त गर्छन् । यसरी भक्तजनहरुले तानेका रथ अनि कंसकार समुदायका भक्तजनहरुले बाजा बजाउँदै अनि स्थानीय झाँकी र कलात्मक अभिव्यक्तिका साथै विभिन्न देवदेवीको मुखुण्डो लगाएर नाचगान गर्दै एक ठाउँबाट अर्को ठाउँ लगिन्छ । यस्तै जात्रा ललितपुर र दोलखामा पनि बुगां ध्य जात्राका रुपमा गरिन्छ ।

यस जात्राको शुरुवात त पहेला अर्थात् पौष महिनामै भइसक्छ भन्दा तपाईलाई अचम्म लाग्न सक्छ, तर सत्य यही हो । हरेक वर्ष पौष महिनामा शुक्ल पक्षको अष्टमीका दिन मच्छिन्द्रनाथको रथलाई मच्छिन्द्रनाथ मन्दिरमा लगेर दूध, घिऊ आदि कुराहरुले सफाई गरिन्छ । यस कार्यक्रममा जिवित देवी कुमारीको पनि सहभागिता रहन्छ । यसरी पौष महिनामै सरसफाई गरी तैयार गरिएको रथ या भनौँ खटलाई चैत्रको यस जात्रामा प्रयोग गरिन्छ ।

यस वर्ष वि.सं. २०७८ सालको सेतो मछिन्द्रनाथको जात्राको सबैलाई शुभकामना । शहरबासी अनि देशबासीहरुमा उहाँको कृपाले शान्तिको प्रतीक कमलको फूल फुलिरहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 680

प्रतिक्रिया (०)

सम्बन्धित खबर
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१
बूढो गोरु ( व्यङ्ग्य कविता )
शुक्रवार, कार्तिक १६, २०८१