Aamsanchar

कनकाईमा सामुदायिक विद्यालयको स्तरोन्नतिमा उल्लेखनीय काम

Author Image
शुक्रवार, वैशाख २, २०७९


सुरुङ्गा । झापाको कनकार्ई नगरपालिकाले पछिल्लो साढे ४ वर्ष यता नगरका सामुदायिक विद्यालयहरूको स्तरोन्नतिमा उल्लेखनीय काम गरेको छ ।
नगर क्षेत्रभित्र १४ वटा सामुदायिक विद्यालयहरू रहेका छन् । जसमा ६ वटा माध्यमिक, ४ वटा आधारभूत र ४ वटा प्राथमिक विद्यालयहरू रहेका छन् । माध्यमिक विद्यालयहरूमा कन्काई मावि सुरुङ्गा, आदर्श विद्यामन्दिर मावि घैलाडुब्बा, भृकुटी मावि दुर्गापुर, चम्पापुर मावि चम्पापुर, सरस्वती मावि जामुनबारी र हिमाली मावि लक्ष्मीपुर हुन् भने आधारभूत विद्यालयहरूमा सिंहदेवी आवि टेक्रा, जानकी आवि सुकेडाँगी, भगवती आवि चप्रामारी, जनचेतना आवि चौरी पर्दछन् । त्यसै गरी प्राथमिक विद्यालयतर्फ कनकाई गायत्री प्रावि कोटीहोम, देवकोटा प्रावि तुलसीबारी, पशुपति प्रावि प्रजापति र पञ्चकन्या प्रावि भुरुङ्गाले बाल बालिकालाई शिक्षा प्रदान गर्दै आएका छन् । शैक्षिक सत्र २०७८ को तथ्याङ्क अनुसार यस वर्ष कनकाई नगरभित्रका सामुदायिक विद्यालयहरूमा ६ हजार ५ सय ४० जना विद्यार्थीले नियमित अध्ययन गरिरहेको कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ ।

बितेका साढे ४ वर्षमा विद्यार्थी र विद्यालयको हितको लागि नगरपालिकाले विभिन्न भौतिक योजना सम्पन्न गरेको छ भने केही प्रभावकारी कार्यक्रमहरू पनि लागु गरेको छ । यो अवधिमा हिमाली आधारभूत विद्यालयलाई हिमाली माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति गरिएको छ । नगरमा पहिलो प्राविधिक विद्यालयको रूपमा सीटीईभिटीईबाट सम्बन्धन प्राप्त प्राविधिक विद्यालय शुरु गरिएको छ । कनकाई पोलिटेक्निक इन्टिच्युटको (प्राविधिक शिक्षालय) मा सिभिल, कम्प्युटर र जियोमेट्रिक (अमिन) विषयहरूमा डिप्लोमा तहको शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ र पहिलो ब्याच पासआउट हुन लगिरहेको छ । त्यसै गरी आदर्श विद्यामन्दिर मावि घैलाडुब्बामा कक्षा (९–१२) मा सिभिल इन्जिनियरिङको कक्षा सञ्चालनमा ल्याइएको छ । सबै सामुदायिक विद्यालयमा प्राथमिक स्वास्थ्य सुविधा पु¥याइएको छ भने कन्काई मावि सुरुङ्गामा एक नर्ससहितको विद्यालय स्वास्थ्य एकाइको गठन गरिएको छ, जसले अलग्गै कोठामा व्यवस्थित रूपमा विद्यार्थी तथा शिक्षकहरूलाई स्वास्थ्य सुविधा दिने प्रबन्ध गरिएको कन्काई माविका प्रअ कर्णबहादुर डाँगीले जानकारी दिए ।

सबै १४ वटा विद्यालयमा पूर्व प्राथमिक र प्राथमिक तहमा अंग्रेजी र नेपाली दुवै माध्यममा पठनपाठनको व्यवस्था गरिएको छ भने कनकाई माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण अंग्रेजी माध्यममा र कक्षा ६ देखि कक्षा १२ सम्म अलगअलग वर्गमा नेपाली र अंग्रेजी माध्यममा अध्यापन हुने गरेको छ । हाल २ हजार ३ सय ८५ जना विद्यार्थी अध्ययनरत कनकाई माविमा ५ वर्षे नमुना विद्यालय विकास कार्यक्रम पनि सञ्चालन भइरहेको छ, जस अन्तर्गत भौतिक, शैक्षिक तथा व्यवस्थापकीय क्षेत्रमा काम भइरहेको छ । कनकाई माविमा सञ्चालित कक्षा (११–१२ ) को विज्ञान समूहलाई थप व्यवस्थित बनाउन पुस्तकालय र विज्ञान तथा कम्प्युटर प्रयोगशालालाई अझ राम्रो, सहज र सुविधासम्पन्न बनाउन पहल गरिएको छ ।

कनकाई नगरका सबै सामुदायिक विद्यालयमा छात्राका लागि निःशुल्क स्यानेटरी प्याडको व्यवस्थापन नगरपालिकाले गरेको छ, जसबाट छात्राहरू तनावमुक्त भई पठनपाठनमा सरिक हुन सहजता प्रदान गरेको छ । १४ वटा सामुदायिक विद्यालयमध्ये १३ वटा विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ भने कनकाई–१ स्थित पशुपति प्राविमा पनि खानेपानी ट्याङ्गी निर्माणका लागि बजेट विनियोजन भई कार्यारम्भ भएको छ ।

नर्सरी कक्षाको समुचित व्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको छ भने विद्यालयको भौतिक पूर्वाधारको विकास गरिएको छ । नेपाल सरकारले तोकबमोजिम बाल शिक्षक तथा कर्मचारीको तलवको व्यवस्थापन गरिएको छ । सबै सामुदायिक विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गरिएको छ । सबै माध्यमिक विद्यालयमा विज्ञान प्रयोशाला तथा आई. सि.टी. कक्षाको व्यवस्थापन भएको छ । विद्यार्थीका लागि वृत्ति विकास परामर्श सहजीकरण कार्यक्रम सञ्चालन गरिएको छ । स्थानीय परिवेशका बारेमा पनि जानकार बनी असल नागरिक उत्पादन हुन सकून् भनी नगरद्वारा पाठ्यक्रम निर्माण गरी स्थानीय विषयको पुस्तक छपाइ हुने क्रममा छ । नगरले गरेको राम्रो काम भनेको कक्षा ५ सम्मका विद्यार्थीहरूका लागि सदन पोशाक वितरण तथा बाल कक्षाका शिशुहरूका लागि झोला वितरण रहेको छ । नगरले ४ वटा बाल शिक्षा कार्यक्रम आफ्नै पहलमा व्यवस्थापन तथा सञ्चालन गरिरहेको कनकाई नगर प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

गुणस्तरीय शिक्षाको लागि शैक्षिक गन्तव्यको अवधारणा ल्याई प्रयोगमा ल्याउने क्रम शुरु भएको छ । शिक्षा क्षेत्रमा कनकाई नगरपालिकाले कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने कार्ययोजना अघि सारेको छ । नगरलाई शैक्षिक गन्तव्य बनाउन र सेवाक्षेत्रभित्रका विद्यार्थीहरूलाई नगरभित्रै गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्न अभिभावक, शिक्षक, शिक्षासेवी, बुद्धिजीवी, जनप्रतिनिधि सबै सरोकारवालाले योजनाबद्ध रुपमा क्रियाशील बनाउन नगरले विशेष कार्ययोजना अघि बढाएको छ । कनकाई नगरमा फरक क्षेत्रका अब्बल नमुना विद्यालयहरूको विकास गर्न, स्थानीय विषयको रूपमा वन तथा तरकारी खेतीसँग सम्बन्धित पाठ्यक्रमको विकास गरी लागु गर्न, विद्यालयभित्र र समुदायमा व्यवस्थित पुस्तकालय तथा वाचनालयको स्थापना गरी पठन संस्कृतिको विकास गर्न, सामुदायिक र संस्थागत विद्यालयको उद्देश्य साझा रहेकाले दुवै प्रकारका विद्यालयको सुमधुर सम्बन्ध कायम गर्न, कक्षाकोठाभित्र सूचनाप्रविधिको पहुँचविस्तार गर्न, विद्यार्थीलाई समयसापेक्ष व्यावहारिक शिक्षा प्रदान गर्न, सबै जातजातिको धर्म, संस्कृति र संस्कारको संरक्षण र विकास गर्न एक आपसी रूपमा जातिवीच सौहार्द र सहिष्णु सम्बन्ध अभिवृद्धि गर्न शिक्षाको उद्देश्य अनुरूप शिक्षा दिनुपर्नेमा नगरलाई शैक्षिक गन्तव्य बनाउने प्रतिबद्धतामा समेटिएको कनकाई नगरलाई शैक्षिक गन्तव्य बनाउने कार्यक्रमका परिकल्पनाकार शिक्षाकर्मी अखिलकुमार कोइरालाले बताए ।
सबै विद्यालयमा ई–हाजिरी, कम्प्युटर शिक्षा, स्मार्ट कक्षा तथा इन्टरनेटको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयहरूमा अति विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृृतिको व्यवस्थापन गरिएको छ । त्यसै गरी, प्रत्येक वडामा खेलकुद सामग्री वितरण तथा वडास्तरीय प्रतियोगिता सञ्चालन गर्ने परिपाटी पहिलो पटक शुरु भएको छ । नगरले महिला फुटबल खेलाडीलाई प्रशिक्षण तथा राष्ट्रियस्तरमा सहभागी गराउने काम गरेको छ । फुटबल खेलतर्फ प्रशिक्षकमा सन्त रायमाझी र लिलु गिरीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै, कनकाई नगरपालिकाले आफ्नै लगानीमा खुला व्यायामशाला निर्माण गरेको छ । बिहान ‘मर्निङ वाक’ गर्ने नगरवासीका लागि खुला व्यायामशालाले सुविधा थपेको छ । ‘स्वस्थ जीवन प्रबद्र्धन’ कार्यक्रमअन्तर्गत कनकाई–३ को सुरुङ्गा बजार नजिक कनकाई सामुदायिक वनको चार कठ्ठा जग्गामा बाल उद्यान पश्चिम बसस्टेण्ड छेउमा कनकाई नगरपालिकाको रु ४५ लाख र प्रदेश नं १ को सरकारको रु १२ लाख गरी कूल रु ५७ लाखको खर्चमा निःशुल्क सेवा लिन पाउने गरी व्यायामशाला निर्माण गरिएको कनकाई नगरपालिका पूर्वाधार विकास समितिका संयोजक एवम् नगर कार्यपालिका सदस्य सुनिता खरेल (सिग्देल) ले जानकारी दिइन् ।

२०७४ साल असार १४ गते स्थानीय तहको निर्वाचन भई असार २१ देखि सपथसहित कार्यभार ग्रहण गरेपछि कनकाई नगरपालिकाको नेतृत्व अथक रूपमा जनसेवामा लागिरहेको छ । यस क्रममा हरेक वर्षको बजेटमा १० प्रतिशत रकम विनियोजन गरी प्राथमिकताका आधारमा सामुदायिक विद्यालयहरूलाई सुधार गरेर निजी विद्यालयभन्दा उत्कृष्ट विद्यालयको रूपमा विकास गर्ने लक्ष्यका साथ योजना निर्माण र कार्यान्वयनमा जोड दिइएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम शुरु गरेपछि निजी विद्यालयबाट सयौंको संख्यामा विद्यार्थी सामुदायिक विद्यालयमा स्थानान्तरण हुन चाहिरहेका छन् । आयआर्जनको राम्रो स्रोत नहुँदा नहुँदै पनि आफ्ना नानीबाबुलाई निजी विद्यालयमा पढाउनुपर्ने बाध्यताबाट कनकाई नगरका अभिभावकहरू मुक्त हुँदै गएका छन् । नमुना विद्यालयको रूपमा प्रस्तावित भएर अघि बढिरहेको सुरुङ्गास्थित कन्काई माविलाई नेतृत्व विद्यालय मानी सबै विद्यालयलाई सोही अनुसार विकास गर्ने नीति अघि बढाइएको छ । समग्रमा भन्दा कनकाई नगरमा शिक्षा क्षेत्रको विकासका लागि सीमित स्रोतसाधनको परिधिभित्र रही निर्वाचित जनप्रतिनिधिहरूले कार्य गरेको देखिन्छ । नगरलाई शैक्षिक गन्तव्य बनाई अन्य नगर, गाउँ, जिल्ला वा विदेशबाट पनि शिक्षा अर्जनका निमित्त विद्यार्थीको रोजाइको नगर बनाउन थप चिन्तन गर्न, योजना बनाउन आवश्यक छ र अभिभावक, शिक्षक र विद्यार्थीको त्रिपक्षीय सुसम्बन्धको बलमा शिक्षा क्षेत्रमा रूपान्तरण सम्भव छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर