Aamsanchar

साउदी आएपछि आफूले चाहेको बेला घर फर्किन वा काम छोड्न नमिल्ने भन्दै दुतावासले गर्याे यस्ताे आग्रह

Author Image
शनिवार, वैशाख ३, २०७९

काठमाण्डौ – साउदीमा पछिल्लो समय नेपालीहरुले दुःख पाएको गुनासो बढ्दै गएको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले धेरै कुरा बुझेर मात्रै साउदी आउन आग्रह गरेको छ ।

साउदी आएपछि काम मन नपरेका कारण, घरायसी पारिवारिक समस्या वा काम गर्न कठिन भएको लगायत कुनै पनि कारण देखाएर आफूले चाहेको बेला स्वदेश फर्किन सहज नभएको दूतावासले जनाएको छ । दूतावासका अनुसार एकजना कामदारलाई साउदी ल्याउन रोजगारदाताले धेरै पैसा खर्च गर्ने भएकाले कामदार सम्झौता नसकि कामदारलाई निस्किन दिँदैनन् । यस्तै पारिश्रमिकका विषयमा प्रष्ट हुन र तोकेको पारिश्रमिक भन्दा कम हुने गरी कुनै पनि सम्झौता नगर्न पनि दूतावासले आग्रह गरेको छ । साउदीले तोकेको अदक्ष कामदारका लागि न्यूनतम मासिक पारिश्रमिक साउदी रियाल १ हजार र खाना सुविधावापत तीन सय रियाल तोकेको छ ।

यस्तै, ओभरटाइम वा अन्य सुविधा बढी हुन्छ भन्ने गलत आश्वासन र भनाइमा विश्वास नगर्न र सम्झौता पत्रमा उल्लेख भएभन्दा बढी कमाइ हुन्छ भन्ने अनावश्यक आश्वासनको भ्रममा नपर्न पनि दूतावासले आग्रह गरेको छ ।

 

यस्तै साउदी अरबमा अदक्ष कामदारको रुपमा आउँदा बढी शारीरिक र मानसिक परिश्रम गर्नुपर्ने हुन्छ । स्वास्थ्य अवस्था कमजोर भएका वा कुनै बिरामी भएका तथा औषधि सेवन गरिरहेको भए नआउन पनि दूतावासको सुझाव छ ।

दूतावासका अनुसार साउदीमा सप्लाई कम्पनी भनेको भए आउने थिइन भन्ने श्रमिक बढी छन् । त्यसैले कस्तो कम्पनीमा आफू जाँदैछु भन्नेमा प्रष्ट भएर मात्र आउन पनि दूतावासको आग्रह छ ।

Views: 377

प्रतिक्रिया (०)

सम्बन्धित खबर