
नेकपा एमाले बिर्तामोडको घोषणा सभा ।

बिर्तामोड । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा केही दलहरुले मनोनयन दर्ता गराएका छन् ।

आज पहिलो दिन नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मंगोलनेशनल अर्गनाइजेशन (एमएनओ), मौलिक जरोकिलो पार्टी र स्वतन्त्र उम्मेदवारले अधिकांश पालिकामा उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
ठूला दलहरुमध्ये नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन गर्ने बिषयमा छलफल चलिरहेकाले आज उम्मेदवारी दर्ता नभएको बुझिएको छ । दमकमा राप्रपाले माओवादी–काँग्रेसको गठबन्धनसँग तालमेल गरेकाले आज उम्मेदवारी दर्ता गराएन ।

यता बिर्तामोडमा नेकपा एमाले र राप्रपाले मनोनयन दर्ता गराएको छ । नौमती बाजासहितको एमालेको टोलीले बिर्तामोडको हनुमान कम्प्लेक्स अगाडी उम्मेदवारको नामावली सार्वजनिक गरेर मनोनयन दर्ताका लागि गएको हो । एमालेको तर्फबाट नगर प्रमुखमा पवित्रा महतरा प्रसाई र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रौलाले मनोनयन दर्ता गराएका हुन् । बिर्तामोड नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालय पुगेको एमाले टोलीले चर्को स्वरमा कार्यालयको गेटमा बाजा बजाएर मनोनयन दर्ता गराएको थियो ।
आजै राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ । राप्रपाको तर्फबाट नगर प्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रञ्जु प्याकुरेलले मनोनयन दर्ता गराएका हुन् । राप्रपाले अधिकांश वडाका प्रतिनिधीको मनोनयन दर्ता गराएको हो । बिर्तामोड १० मा राप्रपाले एमालेसँग सदस्य पदमा तालमेल गर्ने तयारी गरेको छ ।

