

स्थानीय तहको प्रमुख तथा अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारहरुको दावेदारी बढी देखिएको छ । प्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेद्वारीको संख्या निकै ठूलो छ भने अरु पदमा एमालेको मनोनयन संख्या बढी देखिन्छ ।

एकीकृत समाजवादीको मनोनयन निकै नगन्य देखिन्छ । देशभरबाट मनोनयनको विवरण संकलन र अद्यावधिक हुने क्रम जारी भएकाले अन्तिम विवरणमा भने केही फरक पर्नसक्ने देखिन्छ ।

देशभरबाट नगरपालिकाहरुको प्रमुख (मेयर) पदमा प्रमुख तीन दलको मनोनयनको भन्दा दोब्बरको संख्यामा स्वतन्त्र उम्मेद्वारी परेको छ ।

विभिन्न ठाउँमा तालमेल गरेका कारण सत्तारुढ कांग्रेस र गठबन्धनका अरु दलको तुलनामा एमालेको मनोनयन केही बढी देखिन्छ । कम सिट पाएकाले माओवादी केन्द्र र एकीकृत समाजवादीको विवरण ठूलो संख्यामा देखिंदैन ।
यस्तै नगरपालिकाहरुको उपप्रमुख पदमा पनि प्रमुखकै हाराहारीमा मनोनयन दर्ता भएको छ । उपप्रमुख पदमा समेत स्वतन्त्रत उम्मेद्वारहरुको संख्या बढी छ । त्यसपछि एमाले, कांग्रेस र माओवादी केन्द्र छन् । तालमेलका क्रममा कांग्रेसले प्रमुख पद दावी गरेका कतिपयमा माओवादी केन्द्रले उपप्रमुख पाएकाले चौथो क्रममा माओवादी केन्द्र परेको छ ।
गाउँपालिकाहरुको अध्यक्ष पदमा समेत स्वतन्त्र र त्यसपछि एमाले अगाडि देखिएको छ । त्यसपछि कांग्रेस, माओवादी केन्द्र लगायतका दल छन् ।
गाउँपालिकाको उपाध्यक्ष पदमा एमाले सबैभन्दा अगाडि देखिन्छ । त्यसपछि स्वतन्त्र उम्मेद्वारहरुको मनोनयन परेको छ । नेपाली कांग्रेस तेस्रो स्थानमा छ ।
देशभरका गाउँपालिका र नगरपालिकाको वडाध्यक्ष पदमा एमाले र त्यसपछि नेपाली कांग्रेसको उम्मेद्वारी परेको छ । त्यसपछि स्वतन्त्र उम्मेद्वार अनि माओवादी केन्द्र छन् ।
हरेक वडामा दुई जनाका दरले रहने वडा सदस्य पदमा सबैभन्दा बढी उमेद्वारी परेको छ ।
महिला वडा सदस्यमा पनि एमालेको उम्मेद्वारी बढी देखिन्छ । त्यसपछि कांग्रेस र माओवादी केन्द्र परेका छन् ।
अनुपातका हिसाबले सबैभन्दा कम उम्मेद्वारी परेको दलित महिला वडा सदस्य पदमा करिव तेब्बरको हाराहारीमा उम्मेद्वारी परेको देखिन्छ ।



