Aamsanchar

चैत ३० गते मृत्यु भएकी अमृताको अझै अन्त्येष्टि भएन

Author Image
बिहिवार, वैशाख १५, २०७९

बुटवल –गएको चैत ३० गते राति मृत्यु भएकी रुपन्देहीको जानकीनगरकी अमृता खत्री टन्डनको अन्त्येष्टि अझै हुनसकेको छैन । माइती पक्षको सहमतिपछि वैशाख ४ गते पोस्टमार्टम गरिए पनि अन्त्येष्टिको अझै टुंगो लागेको छैन ।

रुपन्देही प्रशासनले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मृतकका माइती पक्ष पोस्टमार्टमका लागि सहमत भएका थिए । तर, दाहसंस्कार भने गरिएको छैन ।

अमृताको माइती पक्ष निरन्तर सडक आन्दोलनमा छ । घरतर्फका भने सबैजना हिरासतमा रहेकाले अन्योल बढाएको स्थानीय प्रशासनले जनाएको छ ।

“माइती पक्षको मागबमोजिम घटनाको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान टोलीबाट भइरहेको छ । अब उहाँहरूले अन्त्येष्टि गरेर अनुसन्धानमा सघाउँदा राम्रो हुन्थ्यो,” इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले भने ।

“मृतकका श्रीमान्, सासू र ससुरा गरी परिवारका तीनजना नै प्रहरी हिरासतमा हुनुहुन्छ । घटनाको अनुसन्धान भइरहेको छ । त्योबाहेक अरू काम अदालतबाट हुने हो, हामीबाट हुने काम सबै भइसकेको छ,” केसीले भने ।

माइतीतर्फका आफन्तले सिद्धार्थ राजमार्गको बुटवल–बेलहिया सडकखण्डअन्तर्गत जानकीनगरमा हरेक साँझ ५ देखि ७ बजेसम्म नाराबाजी र दीप प्रज्ज्वलन गर्दै आएका छन् ।

मृतक अमृताका दाजु पुष्पक खत्री बहिनीको आत्महत्या नभई परिवारबाटै हत्या भएको दाबी गर्छन् । ‘हत्या’मा संलग्नहरूमाथि कारबाही हुने निश्चित नभएसम्म अन्त्येष्टि नगर्ने उनको भनाइ छ ।

“अनुसन्धानमा असर नपरोस् भनेर पोस्टमार्टम गर्न सहमत भएका हौँ । न्याय पाइन्छ भन्ने निश्चित नहुँदासम्म अन्त्येष्टि गर्दैनौँ,” उनले भने ।

चैत्र ३० गते तिलोत्तमा नगरपालिका–२, जानकीनगर बस्ने २९ वर्षीया अमृताको रहस्यमय ढंगले मृत्यु भएको थियो । सोही दिन बेलुका करिब ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी उनको राति ९ः५० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

माइती पक्षले ‘हाँसीखुसी ८ः३० बजे माइतबाट घर जानु, घर पुगेको एक घण्टामा बाँच्न चाहेको भन्दै गुहार मागेर दाइलाई म्यासेज पठाउनु, घटनास्थलमा नेपालमा बिक्री–वितरण गर्न प्रतिबन्धित विषादीको बट्टा फेलापर्नु, विष सेवन गरेको भनिएको कोठाको ढोका खुल्लै रहनु’ले अमृताको हत्या भएको आशंका गरेका छन् ।बाह्रखरीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर