जसरी औँसीको दिनमा लाग्ने चर्को घाममा बिस्कुन सुकाएमा अन्नमा किरा नलाग्ने विश्वास छ, त्यसै गरी आजको औँसीमा आमाको स्मरण र आमाप्रति श्रद्धा व्यक्त गरेमा आमा र सन्तान बिचको सबन्धमा कुनै दरार आउनेछैन ।
मातातीर्थ औँसी
माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।
मातृदेवो भव ।
अर्थात् आमाहरू देवता हुन् । यस लोकमा भएका आमाहरू जीवित देवताहरू हुन्, लोक त्यागेका आमाहरू पनि अमर छन्, उहाँहरूको सम्झना र आराधना गरिन आजका दिनले पैरवी गर्दछ । शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । संसारको सबैभन्दा पवित्र नाता, आमा, संसारको सबैभन्दा पवित्र सम्बोधन हो, ‘आमा’ ।
कसरी मनाइन्छ मातातीर्थ औँसी ?
आज बिहान सबेरै उठी स्नान गरेर आमालाई मिष्ठान्न भोजन खुवाई, उपहार दिंदै आमाको मुख हेर्ने र आमाबाट आशीर्वाद लिने गरिन्छ । आज आमाबाट टाढा रहेका सन्तानहरू आमालाई उपहार लिएर भेट्न पुग्छन् । विवाह गरेर पतिका घर गएका चेलीबेटीहरू मीठा परिकारहरूसहित आमा घर अर्थात् माइती पुग्छन् । विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने सञ्चारका साधनहरूमार्फत पनि सम्झने गर्छन् । मानिसहरूले सामाजिक सञ्जालको माध्यमबाट पनि आमाप्रतिका भावना अनि सम्झनाहरू व्यक्त गर्ने गर्दछन् । आज उपत्यकाका नेवा समुदायले भने भक्तपुरको हनुमान घाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।
आजको दिन किन लाग्दछ थानकोटको मातातीर्थमा मेला ?
माता तीर्थ औँसीका दिन काठमाडौँको थानकोट नजिकै अवस्थित माता तीर्थमा धूमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले माता तीर्थ कुण्डमा स्नान गर्छन् । जनश्रुति अनुसार, पहिले माता तीर्थमा गोठालाहरूले गाई–बस्तुहरू चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अचानक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरू अचम्मित भए । गोठालाहरूले पुनः अरू रोटीका टुक्राहरू पनि फ्याँके । ती टुक्राहरू क्रमशः हराउँदै गए । ती गोठालाहरूमध्ये एउटाको आमा थिइन् भने अरूका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएनन् । आमा नहुने गोठालाहरूले फ्याँकेका रोटीका टुक्रा मात्रै गायब हुन्थे । उक्त दिन वैशाख कृष्णपक्ष औँसी थियो । यो कुरा अरू गाउँलेहरूले पनि थाहा पाए ।
गाउँलेहरूले उक्त दिन मृत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । हरेक वर्ष उक्त औँसीका दिन माता तीर्थको चौरमा आमाको मृत्यु भइसकेकाहरूले अनेक मिष्ठान भोजन लागि चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र माता तीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक वर्ष आमा नहुनेहरूले माता तीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धा स्वरूप माता तीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।
आमा, जसले हामीलाई संसार देखाइन् । गर्भमा राखेर जन्म दिइन् । काखमा राखेर पालिन् । ममता कि खानी अनि बालापनमा कल्प वृक्ष सरी हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहना पूरा गरिदिने, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ ।