

झापा। स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै विभिन्न राजनीतिक दलका उम्मेद्वार तथा नेता – कार्यकर्ता मतदाताको घर घरमा मत मागिरहेका छन् । विविन्न एजेण्डा लिएर यतिवेला मतदाताकहाँ जाने उम्मेद्वार मध्ये बाह्रदशी गाउँपालिकामा रहेका सत्तारुढ गठबन्धन दलका उम्मेद्वारले कृषि लाई प्राथमिकतामा राखेर आफ्ना प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

यस्ता छन् सत्तारुढ गठबन्धन दलका मुख्य एजेण्डा
कृषिमा आधारित जनताको जीविकोपार्जनको मुख्य स्रोत नै कृषि भएकाले कृषिलाई वैज्ञानिक कृषि प्रणालीमा रुपान्तरण गर्नेदेखि जैविक मल उद्योग स्थापना गर्नेसम्मका प्रतिबद्धता गठबन्धनले अघि सारेको छ ।
जसमा अग्र्यानिक कृषि उत्पादनमा जोड, तरकारी खेतीलाई आधुनिकीकरण गर्दै टनेल खेतीको विकास गर्ने, राजगढ, चकचकी र डाँगीबारीमा तरकारीको थोकबजार स्थापना गर्ने, खेत–खेतमा पोल, कित्ता–कित्तामा सिञ्चाई कार्यक्रम, आवश्यक मल, बीऊ, वितरणमा सहजीकरण गर्ने, प्रत्येक वडामा कृषि प्राविधिक र प्रविधि केन्द्र स्थापना गर्ने, कृषि बीमा अन्तर्गत कृषकलाई बाली बीमा गर्न लगाउने जस्ता कार्यक्रम अघि सारिएको छ ।
पशुपालनतर्फ उन्नत जातका पशु ५० प्रतिशत अनुदानमा वितरण गरिने, प्रत्येक वडामा पशु प्राविधिक र पशु स्वास्थ्य केन्द्र स्थापना गरिने लगायत छन् ।
शिक्षातर्फ कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गरिने, सामुदायिक विद्यालयसहित धार्मिक, सिकाइ केन्द्र, सार्वजनिक पुस्तकालयहरुको भौतिक पूर्वाधार व्यवस्थापन गरिने, सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्थापन गरी अंग्रेजी र कम्प्युटर शिक्षालाई अनिवार्य लागू गर्ने, प्रत्येक सामुदायिक बिद्यालयमा क्रमशः स्कूल बसको व्यवस्थापन गर्ने र गाउँपालिकामा उच्च शिक्षा अध्ययन गर्ने व्यवस्थापनका लागि क्याम्पस स्थापना गर्ने लगायत छन् भने कक्षा ११÷१२मा अध्ययनरत् निम्न बर्गीय विद्यार्थीलाई साइकलको व्यवस्थापन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गर्न प्रोत्साहन गर्ने, प्रत्येक सामुदायिक विद्यालयमा खेलकुदलाई प्रोत्साहन तथा व्यवस्थापन गर्ने, गाउँपालिकाभित्र राष्ट्रियस्तरको खेलकुदको बहत्तर विकास गर्ने लगायतका प्रतिबद्धता अघि सारिएको छ ।
त्यस्तै गठनबन्धनले अन्य २४ वटा बुँदागत प्रतिबद्धता सार्वजनिक गरेको छ । पाँच वर्षभित्र उच्चस्तरीय कालोपत्रे सडक निर्माण गर्ने, प्रत्येक गाउँ तथा घरलाई सडक सञ्जालसँग जोड्न पहल गर्ने, बजारी क्षेत्रमा ढल निकासको व्यवस्थापन गर्ने, दुव्र्यसनमुक्त बाह्रदशी, भयरहीत बाह्रदशी, युवा शक्तियुक्त बाह्रदशी बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने रहेका छन् ।
त्यस्तै मृत्यु संस्कारका लागि प्रत्येक परिवारलाई न्यूनतम् १० हजार रुपैयाँ सहयोग गरिने, नदी कटान रोक्न आवश्यक तटीय क्षेत्रमा तटबन्धन गरिने, हात्ती नियन्त्रणका लागि विशेष पहल गर्ने, आवश्यक स्थलमा सडकबत्ती र सीसी क्यामेरा जडान गर्ने, अधुरा रहेका भौतिक संरचनाहरुलाई पूरा गर्ने, आवश्यकस्थलहरुमा पक्की पुल र झोलुंगे पुल निर्माण गर्दै नागरिकको आवागमनलाई सहज तुल्याउने लगायतका प्रतिबद्धता गठनबन्धनले सार्वजनिक गरेको छ ।



