Aamsanchar

उभौली पर्व किन मनाइन्छ ?

Author Image
सोमवार, जेठ २, २०७९

प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुमनिमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।

कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

कसरी मनाइन्छ उभौली ?
बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।

अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।

यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 351

प्रतिक्रिया (०)

सम्बन्धित खबर