Aamsanchar

मोरङ : खेतको डिलमा पुरुषको शव फेला, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर परिचालन

Author Image
आइतवार, जेठ १५, २०७९

विराटनगर –  मोरङको कटहरी गाउँपालिका–१ महेशपुरस्थित खेतको डिलमा आइतबार बिहान एक जनाको पुरुषको शव फेला परेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार कटहरी–२ का ५० वर्षीय तुलसी श्रेष्ठको शव शंकास्पद अवस्थामा भेटिएको हो।

हत्या गरेपछि शव सडक छेउको नालीनजिकै खेतमा फ्यालिदिएको हुनसक्ने उनको भनाइ छ। यद्यपि घटना हत्या हो कि हैनभन्ने यकिन हुन बाँकी रहेको श्रेष्ठले बताए। ‘आँखामाथि निधारको भागमा चोट रहेको अवस्थामा शव भेटिएको हो। प्रारम्भिक अनुसन्धानबाट हत्याको आशंका गरिएको छ,’ उनले भने, ‘घटनाको प्रकृति हेर्दा धारिलो हतियारले टाउकोमा प्रहार गरेर मारेजस्तो देखिन्छ। थप कुरा बुझ्ने काम भइरहेको छ।’ प्रहरीका अनुसार बिहे गरेकी श्रीमतीले छाडेपछि तुलसी भाइ चित्रकुमारको साथमा बस्दै आएको खुलेको छ। तुलसीका सन्तान छैनन्।

चित्रकुमारको कटहरी–१ मा कुखुरा फार्म छ। तुलसी शनिबार राति घरबाट निस्किएको पाइएको प्रहरीले जनाएको छ। घरबाट निस्किएर भाइको कुखुरा फार्मतिर गएको आशंका गरिएका उनको खोजी गर्ने क्रममा शव खेतमा भेटिएको हो।

शव देखेपछि स्थानीयले प्रहरीलाई घटनाको जानकारी गराएका थिए। घटनास्थलमा पुगेर मोरङ प्रहरीका डीएसपी राजन कार्की नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत परिचालन गरिएको छ।  ‘खेतको डिलमा पुरुषको शव भेटिएको हो। कुनै धारिलो हतियार प्रहार गरेजस्तो चोट निधारमा छ,’ डीएसपी श्रेष्ठले भने, ‘घटना शंकास्पद देखिएपछि विभिन्न कोणबाट अनुसन्धान थालेका छौँ। घटनाको वस्तविकता विस्तारै खुल्दै जाने छ।’ शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा ल्याउने तयारी भइरहेको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 457

प्रतिक्रिया (०)

सम्बन्धित खबर