Aamsanchar

हरैयामा श्रीमान झुण्डिएको र श्रीमती घाँटी रेटिएको अवस्थामा फेला

Author Image
मङ्गलवार, जेठ १७, २०७९

धनगढी – कैलालीको गोदावरी नगरपालिकामा-७ हरैयामा एक दम्पत्ती मृत फेला परेका छन्। गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र उनकी श्रीमती ५५ वर्षीया पदमा ऐर मृत फेला परेका ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

हेमबहादुर घर छेउकै चिलाउनको रुखमा झुण्डिएको अवस्थामा र पदमा कोठामा घाँटी रेटिएको अवस्थामा मृत फेला परेका हुन‍्। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी रविन्द्र पाण्डेले मृत दुबै जनाको घटना मुचुल्का पश्चात शव पोस्टमार्टमका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको बताए।

घटना विवरण अनुसार सोमबार साँझ हेम बहादुर, पदमा र कान्छी बुहारीलेसँगै खाना खाएका थिए। खाना खाएपछि ऐर दम्पत्ती टिभि हेरिरहेका थिए। बुहारी भने खाना खाएर अर्को कोठामा सुत्न गईसकेकी थिईन।

विहान छिमेकीहरुले घर नजिकैको चिलाउनेको रुपमा हेमबहादुर झुण्डिएको देखेपछि बुहारीलाई खबर गरेका थिए। बुहारीले उठेर सासु ससुराको कोठामा हेर्दा पदमा पनि रक्ताम्य भएर ढोका नजिकै लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख रविन्द्र पाण्डेले, घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताए। ‘अर्को कोठामा सुतिरहेकी बुहारीले, पंखाको आवाजले राति केही पनि थाहा नपाएको बताएकी छिन, पदमाको घाँटीमा धारिलो हतियारको घाउ पनि छ, पदमाको शव भेटिएको नजिकैको दराजको छेउमा रगत लागेको खुकुरी पनि भेटिएको छ’ डिएसपी पाण्डेले भने। ‘घटनाको प्रकृती हेर्दा श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको जस्तो देखिन्छ।’

तर प्रहरीले अरु कोणबाट पनि अनुसन्धान भईरहेको जनाएको छ। मृतक दम्पत्तीका तीन छोराहरु छन्। एउटा छोरा नेपाल प्रहरीमै बझाङमा कार्यरत छन् भने माईलो छोरो कामका लागि भारतमा छ। कान्छो छोरो स्काभेटर चालक रहेकाले कान्छी बुहारी मात्र घरमा रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 387

प्रतिक्रिया (०)

सम्बन्धित खबर