Aamsanchar

खोटाङको हलेसी तुवाचुङका सबै माविमा अङ्ग्रेजी माध्यमबाट पढाइने

Author Image
बिहिवार, जेठ १९, २०७९

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै माविमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको तयारी गरेको छ ।

मेयर विमला राईको अध्यक्षतामा सम्पन्न शिक्षा समितिको बैठकले नगरका सबै मावि तहका १२ विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको व्यवस्था गर्ने निर्णय गरेको हो ।

अङ्ग्रेजी माध्यमको पठन पाठनप्रति विद्यार्थी तथा अभिभावकको बढ्दो आकर्षण र मागलाई मध्यनजर गर्दै नगरपालिकाले मावि तहका विद्यालयमा अङ्ग्रेजी माध्यम लागू गर्ने तयारी गरेको हो।

अङ्ग्रेजी माध्यमबाट पठन–पाठनको पूर्वतयारीमा २० जेठमा ११ वडाका वडाध्यक्ष, १२ माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग छलफल गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । सुरुमा माविबाट अङ्ग्रेजी माध्यम लागू गर्ने र क्रमशः अन्य विद्यालयलाई यसतर्फ ‘मोटिभेट’ गरिने हलेसी तुवाचुङ नगरपालिकाका मेयर राईले बताउनुभयो ।

बैठकले विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालयको समायोजन वा घटुवा गर्ने तथा बढी विद्यार्थी भएका विद्यालयमा कक्षा थप एवम् शिक्षक व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेस गर्न सामाजिक विकास समितिका संयोजक एवम् शिक्षा समिति सदस्य रुद्रकुमार राईको अध्यक्षतामा ५ सदस्यीय समिति गठन गरेको छ ।

यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि शिक्षा शाखा र प्रधानाध्यापकबीच कार्य सम्पादन करार सम्झौता गर्ने, यथाशीघ्र वडा शिक्षा समिति पुनर्गठन गर्ने, चौमासिक रुपमा तलब पाउँदै आएका शिक्षकलाई आउँदाे आर्थिक वर्षदेखि मासिक रुपमा उपलब्ध गराउने निर्णय भएको शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 465

प्रतिक्रिया (०)

सम्बन्धित खबर