झापा । माई नगरपालिकाका प्रमुख तथा नेकपा एमालेका नगर अध्यक्ष खम्बासिं लिम्बु र पार्टीका नगर उपाध्यक्ष नरेन्द्रकुमार खड्काले समाचारको बिषयलाई लिएर पत्रकारको पेशाप्रति सार्वजनिक रुपमा हतोत्साहित गर्ने कार्य गरेको भन्दै नेपाल पत्रकार महासंघ झापा शाखाको धानाकर्षण भएको छ ।
प्रशारित समाचार चित्त नबुझे तथा गुनासो भए कानुनी प्रक्रियामा जान सकिने तथा विकल्प र स्थापित बाटा हुँदाहुँदै प्रेस बिज्ञप्ती जारी गरी पत्रकारको नामै किटान गरेर धम्क्याउने र पेशाप्रति हतोत्साहित पार्ने कार्य भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
नगर प्रमुख तथा नेकपा एमालेका नगर अध्यक्ष लिम्बुले गत जेठ २२ गते र पार्टीका नगर उपाध्यक्ष खड्काले जेठ २४ गते छुट्टाछुट्टै बिज्ञप्ती प्रकाशित गरेर पत्रकार पुजन घिमिरेको नामै किटान गरेर हतोत्साहित गरेको पाइएको महासंघ झापाका सचिव डिकेश लामाद्धारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख छ ।
महासंघले समाचारको बिषयलाई लिएर पत्रकारलाई धम्क्याउने र हतोत्साहित गर्ने कार्य खेदजनक भएको ठहर गर्दै उक्त कार्य प्रेस स्वतन्त्रता विरोधी भएको र संविधानले सुनिश्चित गरेको प्रेसको अधिकार र स्वतन्त्रताको सम्मान गर्न आग्रह गरेको समेत छ ।
माई नगरपालिका २ र ८ चेप्टीमा सञ्चालनमा आएको हेप्पी ड्रिम्स प्रालिद्धारा निर्माणधिन फन पार्कले सरकारी जग्गा मिचेको बिषयमा पत्रकार घिमिरेले समाचार लेखेका थिए ।