Aamsanchar

आज पनौती जात्रा

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

फायल फोटो गुगलबाट ।

ज्या: पुन्हि र पनौती जात्रा
नेपाल सम्वतको आठौँ महिना तछला हो । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ । अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् ।

बौद्ध मार्गीका लागि ज्या: पुन्हि
बौद्ध मार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात् पूर्णिमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको बताइन्छ । बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरू उठ्ने गर्दछन् तथापि केही बौद्ध मार्गी ग्रन्थहरूमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तता लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।

कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउन कालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्त्व ज्ञान अनि त्यागसँग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रूपमा उल्लासका साथ मनाउँदछन् ।

पनौती पुन्हि र ज्या: पुन्हि
यस पूर्णेलाई काभ्रेको पनौतीमा अझ उल्लासका साथ पनौती पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रूपमा पनौती नगर नेपालको एउटा पवित्र सहर हो जसले हजारौँ वर्षदेखि कला, सांस्कृतिक धरोहर अनि संस्कारको जगेर्ना गर्दै आएको छ ।

काठमाडौँ पूर्वको पनौतीमा पनौती जात्राकै रूपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत्त भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीको प्रेम रस अनि यौनउन्मात पनि अप्रत्यक्ष रूपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरू राती महिला अन केटाकेटीसँग लुकाएर गर्ने चलन छ ।

रथयात्राका क्रममा रथहरूलाई नगरका विभिन्न ठाउँमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र संस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिर्गमनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान् ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौती बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरूपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।

तर शुक्ल पक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरूलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रूपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्त्व छ । यस रितलाई पनौती स्नान पनि भनिन्छ ।

ज्या: पुन्हिको किंवदन्ती
थोरै किंवदन्ती उक्काउन चाह्यौँ जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पूजा गर्न पारी जानुपर्ने थियो । त्यसै बखत पुजारीले वासुकी नागसँग सहयोग मागेर खोला तरेको प्रसङ्ग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया (०)

सम्बन्धित खबर