Aamsanchar

विश्वमा मानव बेचबिखनरुपी व्यापारको स्थिती डरलाग्दो

Author Image
बुधवार, असार १५, २०७९

मेचीनगर। मानव बेचबिखनरुपी व्यापारबाटमात्र विश्वव्यापीरुपमा बार्षिक करीब १ सय ५० अरब अमेरिकी डलर आर्जन हुने गरेको एक तथ्याङ्कले देखाएको छ । बुधबार झापाको काँकरभिट्टामा आयोजित मानव बेचबिखन तथा ओसारपसार विरुद्ध समबन्धि अन्तरक्रिया तथा डिजिटल डिस्प्ले बोर्ड समुद्घाटन समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो ववरमहल काठमाण्डौंका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यस्तो उल्लेख छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रमको अध्यक्षता गदैं प्रहरी उपरीक्षक मल्लले विश्वव्यापीरुपमा हुने मान बेचबिखनमध्ये ६६ प्रतिशत बेचबिखन यौनजन्य शोषणका लागि हुने र करीब २ करोड ७० लाख वयस्क र १ करोड ३० लाख बच्चाहरु बेचबिखनमा पीडित रहेको जानकारी गराउनुभयो । खासगरी मृगौला, कलेजो र रगत शारीरिक अंगहरु तसकरीका लागि बेचबिखन हुने तथा ३ जनामध्ये २ जना पीडित महिला हुने गरेको उहाँको भनाई छ । आजको आधुनिक युगमा पनि मानिसले मानिसलाई नै बेचबिखन गर्ने जस्तो घृणित कार्य यस धर्तीमा फस्टाउँदै जानु कथित सभ्य समाजको कलंक भएको उहाँको भनाई छ । संसारमा फष्टाउँदो गतिमा रहेका प्रमुख तीनवटा अवैध संगठित अपराधहरु हातहतियार, मानव बेचबिखन तथा लागू औषध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधको रुपमा दर्ज भएको उहाँको भनाई छ । जसमा प्रतिवर्ष करीब १ सय ५० अरब अमेरिकी डलर बराबरको कारोबार हुने गर्दछ ।

कार्यक्रममा बोल्ने वक्ताहरुले मानव बेचबिखन तथा ओसारपसार जस्तो आपराधिक कार्य कसैको एक्लो प्रयासलेमात्र सम्भव नहुने भएकाले यसलाई रोक्न सवै एकजुट हुनुपर्ने बताएका थिए । नेपालका चेलीबेटीहरु विभिन्न बहानामा भारतको खाडीमा बेचिने गरेको र बढी भारतको कोठीमा केन्द्रित भई बेचिन पुगेकोमा उनीहरले चिन्ता व्यक्त गरेका थिए । रोजगारीको बहानामा पनि मानव बेचबिखन हुने उनीहरुको भनाई छ । मानव बेचबिखन एउटा यस्तो अपराध हो जसले पुरुष, माहिला र बालबालिकालाई तारो बनाउँछ । उनीहरुलाई गलत कार्यहरुमा लगाइन्छ ।

दलालहरुको माध्यमबाट अनुचित श्रम तथा यौन शोषणजस्ता कार्यमा जवरजस्ती संलग्न गराइन्छ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने र मनोरञ्जन उद्योगमालगाई शोषण गर्नेजस्ता परम्परागत शोषणका कार्यबाट आज बेचबिखनको प्रवृति फेरिँदै बदलिंदै गएको अवस्था रहेको छ ।

पीडित व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबरजस्ती तथा धोकाधढीद्वारा जुनसुकै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग किड्नी झिक्ने, छाला झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषणमा लगाउने कार्यहरु गरिन्छ । अशिक्षा, अज्ञानता र गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक रोजगारीको प्रलोभनमा र विविध छलकपट गरेर मानव बेचबिखन र मानव तस्करी गर्ने गरेको पाइन्छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, विशिष्ट अतिथि मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महत्तो, माइती नेपालका १ नम्बर प्रदेश प्रमुख गोविन्द घिमिरेलगायतले बोल्नुभएको थियो ।

सोहि अवसरमा प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरो काठमाण्डौबाट प्राप्त सन्देशमुलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्डको समेत नगरप्रमुख बुढाथोकीले उद्घाटन गर्नुभयो । यो प्रकारको डिस्प्ले बोर्ड नेपालमै पहिलो पटक पूर्वीनाकामा राखेको हो । व्यूरोले सन्देशमुलक सन्देश प्रवाह गर्न जडित डिस्प्ले बोर्ड देशका सवै भागमा राख्ने प्रहरी उपरीक्षक मल्लले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 580

प्रतिक्रिया (०)

सम्बन्धित खबर