इटहरी । नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा पुगेको छ । घरेलु टोलीसँगको सिरिजका लागि नेपाली टोली बुधबार क्यानडा पुगेको हो ।
स्थानीय नेप्लिज क्यानेडियन क्रिकेट क्लब (एनसीसीसी) ले नेपाली टोली क्यानडा आईपुगेको जानकारी दिएको छ ।
नेपाली टोली सोमबार राति राती त्यसतर्फ प्रस्थान गरेको थियो। नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । नेपालले जुलाई १ मा ओन्टारियोसँग अभ्यास खेल खेल्नेछ ।
त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग भएको छ।
स्कटल्याण्डमा हुने सिरिजको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध खेल्नेछ । नेपाल र नामिबियाबीचको खेल जुलाई ११ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेल स्कटल्याण्डविरुद्ध जुलाई १३ मा खेल्नेछ भने तेस्रो खेलमा नामिबियाविरुद्ध जुलाई १६ र अन्तिम खेलमा नेपालले स्कटल्याण्डविरुद्ध जुलाई १७ मा खेल्ने तालिका रहेको छ ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।