
राष्ट्रियसभाको बैठक कक्षबाट बाहिरिंदै नेकपा एमालेका सांसदहरु ।


काठमाडौं – प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिबाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयकमाथिको छलफल बहिष्कार गरेको हो ।शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयकमाथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनायो । अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराए । त्यसपछि एमाले सांसदहरु बैठक हलबाट बाहिर निस्किए ।

एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए ।

