Aamsanchar

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या गर्ने ४ जनालाई आजीवन कैद

Author Image
मङ्गलवार, असार २१, २०७९

विराटनगर – संखुवासभाको मादी नगरपालिका-१ स्थित उम्लिङको खोला गाउँमा एकै परिवारका ६ जनाको हत्यामा संलग्नलाई अदालतले आजीवन कैद सजायको फैसला सुनाएको छ। चैनपुरस्थित जिल्ला अदालत संखुवासभाका न्यायाधीश शान्तिप्रसाद आचार्यको इजलासले ६ जनाको हत्यामा संलग्नमध्ये ४ जनालाई आजीवन कारावासको सजाय हुने फैसला गरेको हो। हत्यामा भने ५ जना संलग्न थिए। ४ जनालाई आजीवन कारावासको फैसला भएको श्रेस्तेदार केदारप्रसाद गौतमले जानकारी दिए। उनका अनुसार १ जनाको हकमा भने उमेर नपुगेको र नाबालक रहेकाले २५ वर्षलाई आधार मानेर दुईतिहाइ कैद हुने फैसला भएको छ। गौतमका अनुसार आजीवन कारावासको सजाय सुनाइएकाहरुले जीवित रहेसम्म जेलमा बस्नुपर्ने हुन्छ। अदालतले सोमबार ५ जनालाई कसुरदार ठहर गर्दै मुद्धाको किनारा लगाएको उनले बताए। मृतक परिवारको राहत कोषमा ४ जनाले प्रतिव्यक्ति २–२ लाख रूपैयाँ क्षतिपूर्ति रकमसमेत जम्मा गर्नुपर्ने फैसला अदालतले गरेको छ। एकै परिवारका ६ जनाको हत्या गरिएको घटनामा संलग्न ४९ वर्षीय रणबहादुर कार्की, छोराहरु २८ वर्षीय लोकबहादुर र १७ वर्षीय नरेश तथा ४७ वर्षीय खड्गबहादुर कार्की र उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्कीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइएको थियो। तीमध्ये रणबहादुर, लोकबहादुर, खड्गबहादुर र हस्तबहादुरलाई आजीवन कारावासको सजाय भएको हो।

फैसला अनुसार नरेशले भने १६ वर्ष ८ महिना मात्रै कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ। उनीविरुद्ध कर्तव्य ज्यानसँगै चोरी मुद्दा पनि चलाइएको थियो। हत्या गरेपछि मृतकको साथमा भएको मोबाइल नरेशले लिएर गएका थिए । त्यही अभियोगमा उनीविरुद्ध चोरी मुद्दा चलाइएको हो।

चोरी मुद्दामा पनि अदालतले कसुरदार ठहर गर्दै १ वर्ष कैदको सजाय सुनाएको छ । तर बालक भएकाले चोरीमा पनि उनले दुईतिहाइ मात्रै कैद भुक्तान गर्नुपर्ने अदालतले जनाएको छ।

खोला गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नातिनातिना ८ वर्षका विपिन र ५ वर्षीया गोमा कार्कीको २०७८ साल भदौ २१ गते बिहान सामूहिक हत्या भएको थियो । हत्यामा संलग्नहरु तेजबहादुरकै पारिवारिक नाता सम्बन्धका व्यक्तिहरु हुन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 318

प्रतिक्रिया (०)