

काठमाडौं : नेकपा माओवादी केन्द्र स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको बताए।

उनले छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको बताए। प्रवक्ता महराले पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीन जनाको सुझाव समिति गठन गरेको पनि बताए।
त्यस्तै बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ। आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहने प्रवक्ता महराले बताए।
उनले बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको बताए।
उनले भने, ‘विगतको स्थानीय चुनावमा पार्टी भित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको हुनाले र कतिपय केन्द्रिय समितिका सदस्यकै बिरुद्धमा पनि कुरा उठेको हुनाले हामीले तीन जनाको छानबिन समिति बनायौँ। त्यसमा टंक राई अनुशासन विभागको संयोजक हुनुहुन्छ। उहाँको अध्यक्षतामा मुक्ति प्रधान र खिमलाल देवकोटा रहेको तीन सदस्सीय छानबिन समिति बनाइएको छ।‘
प्रवक्ता महराले प्रदेश र केन्द्रलाई बलियो बनाउनका लागि साउन १८ गते गण्डकी, २० गते प्रदेश १, २४ गते लुम्बिनी, २९ गते कर्णाली, २८ गते सुदूरपश्चिम, ३० गते विशेष, १ गते सम्पर्क समन्वय, ३ गते प्रवास बैठक तथा प्रदेश प्रशिक्षणका कार्यक्रम राखेको बताए।
प्रवक्ता महराले पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारी चयनमा आइरहेको समस्याको समाधान १५ दिनभित्र भइसक्ने दाबी गरे।
कतै पाँच दलीय गठबन्धन गरेर त कतै एक्लै लडेको माओवादीले स्थानीय निर्वाचनमा १२२ स्थानीय तहमा विजयी हासिल गरेको छ। यद्यपि, माओवादीले आफूले १७० स्थानीय तहमा जित्ने आँकलन गरेको बताएको थियो।


