Aamsanchar

विराटनगरबाट अपहरणमा परेकी नाबालिकाको उद्धार, एक युवती पक्राउ

Author Image
बुधवार, साउन ४, २०७९

विराटनगर – विराटनगरबाट दुई दिनअघि अपहरणमा परेको भनिएकी १ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। सोमबार अपहरणमा परेकी दीपेन्द्र यादव र ममता यादवकी १ वर्षीया छोरी निकिसालाई प्रहरीले बुधबार बिहान सकुशल उद्धार गरेको हो।

प्रहरीले बालिकाको उद्धार कहाँबाट गरिएको हो र उनलाई किन अपहरण गरियो भन्ने बारेमा खुलाइसकेको छैन। तर बालिकाको अपहरणमा संलग्न भनिएकी अञ्जली साह नाम गरेकी युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिँदै अपहरण गरेर लगेपछि अञ्जलीले साथमै राखेको अवस्थामा बालिकाको उद्धार गरिएको प्रहरी स्रोतले बतायो। ‘दुई दिनदेखि हराइरहेकी बालिकालाई उद्धार गरेर ल्याइँदै छ। अपहरणमा संलग्न भनिएकी महिलालाई पनि पक्राउ गरिएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने, ‘उद्धार टोली बाटैमा भएकाले सबै कुरा खुलिसकेको छैन। अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ।’

बालिकाको अपहरणमा संलग्न भनिएकी अञ्जलीको दीपेन्द्रसँग पुरानै चिनजान रहेको प्रहरीको जनाएको छ। उनीहरुबीचको सम्बन्ध र सम्पर्कका बारेमा प्रहरीले पुष्टि गरिसकेको छैन। छोरीसहित दीपेन्द्रलाई भेट्न बोलाएर विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट अञ्जलीले छोरी (नाबालिका)लाई सोमबार लिएर गएको प्रहरीको भनाइ छ।

खाजा खान भनेर पसलमा छिरेको र दीपेन्द्रले चिया अर्डर गर्दैगर्दा अञ्जलीले उनकी नाबालिका छोरीलाई लिएर गएको बताइन्छ। मास्क लगाएर आएकी उनी नाबालिकालाई लिएर गएपछि नफर्किएको र दुई दिनसम्म आफ्नै नियन्त्रणमा राखेको प्रहरी स्रोतको भनाइ छ। अञ्जलीले छोरीलाई लिएर गएपछि दीपेन्द्रले प्रहरीलाई खबर गरेका थिए। यद्यपि घटनाको वास्तविकता र विस्तृत विवरण प्रहरीले सार्वजनिक गरिसकेको छैन।

अञ्जलीले बालिकालाई लिएर जानुपर्ने कारण पनि खुल्न बाँकी रहेको एसपी कोइरालाले बताए। ‘बालिका अपहरणमा परेको जानकारी आएपछि सबैतिर प्रहरी परिचालन गरेर खोजी तीव्र पारिएको थियो,’ उनले भने, ‘अन्ततः सकुशल उद्धार गर्न सफल भइयो।’ बालिकाका बुवा दीपेन्द्रलाई पनि घटनापछि नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 502

प्रतिक्रिया (०)

सम्बन्धित खबर