काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएको छ। शुक्रबार चालू आव ०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ७ प्रतिशतमा रहेको बैंकको ब्याजदरलाई बढाएर साढे ८ प्रतिशत पुर्याएको घोषणा गरे।
योसँगै बैंकहरूबीच आपसमा हुने कारोबारको दर बढ्नेछ। राष्ट्र बैंकले चालू आवमा अनिवार्य नगद मौज्दात (सिआरआर) को सीमा ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत कायम गरेको छ।
अब बैंकहरूले निक्षेपको ४ प्रतिशत रकम अनिवार्य रुपमा मौज्दात राख्नुपर्नेछ। वैधानिक तरलता अनुपात (एसएलआर) को सीमासमेत बढेको छ। राष्ट्र बैंकले पुस मसान्तभित्र वाणिज्य बैंकले १२ प्रतिशत, विकास बैंकले १० प्रतिशत एसएलआर राख्नुपर्ने व्यवस्था गरेको हो।
नेपाल राष्ट्र बैंकले दुई थरी ब्याजदरको व्यवस्था गरेको छ। मौद्रिक नीतिमार्फत कृषि र उद्योगलाई प्रोत्साहन गर्न दुई थरी ब्याजको व्यवस्था भएको हो। बढ्दो आयात निरुत्साहित गर्न पुँजीगत वस्तुबाहेकका आयात गर्दा नै ब्याजदर दुई थरी हुनेछ। एलसी खोल्दा नै पुँजीगत वस्तुका लागि ब्याजदर कम हुने व्यवस्था गरिनेछ भने अन्य वस्तु आयातमा ब्याजदर उच्च हुनेछ।
पछिल्लो समय अत्यावश्यक मानिएका खाद्यान्न र कतिपय अनावश्यक वस्तुको पनि आयात बढेको भन्दै त्यसलाई निरुत्साहन गर्न पुँजीगत वस्तुको आयात र अन्य
वस्तुको आयातमा कम्तीमा २ प्रतिशत बिन्दुले ब्याज फरक हुने व्यवस्था मौद्रिक नीतिमार्फत गरिएको हो।