दाङ । दाङको तुलसीपुरमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटिडेको तीन दिने कार्यशाला गोष्ठी शुक्रबार आजदेखि कर्णाली प्रदेश राजधानी सुर्खेतमा शुरु भएको छ ।
गतवर्षको समिक्षा तथा पुनरावलोकन र चालु आर्थिक वर्ष २०७९/२०८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । कार्यशाला गोष्ठीमा पञ्चवर्षिय रणनैतिक योजनाको पुनारावलोकन र चालुवर्षमा संचालन हुने कार्यक्रम र बजेटका विषयमा छलफल हुने भएको छ ।
शुक्रबार आजदेखि शुरुभएको कार्यशाला आइतबार सकिने छ । तीन दिनसम्म संचालन हुने कार्यशाला गोष्ठीमा संस्था संचालक समिति, लेखा समिति, उप समितिका पदाधिकारी, संस्थाद्वारा संचालित पाँच वटै विभागका प्रमुख लगायतको सहभागिता रहेको छ ।
संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षतामा कार्यशाला गोष्ठीको शुभारम्भ गरिएको हो । सहकारी संस्थाका सल्लाहकार द्वय नारायण प्रसाद भण्डारी र ऋषिराम पौडेलले पानसमा वत्ती बालेर गोष्ठीको शुभारम्भ गर्नुभएको हो ।
त्यस अवसरमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक सुर्यप्रसाद शर्माले संस्थालाई बलियो बनाउन नेतृत्व विकास गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले संस्थालाई आर्थिकरुपमा सबल बनाउन वचत वृद्धि गर्नुपर्ने बताउँदै कर्मचारी पनि समयानुकुल परिवर्तन हुनुपर्ने बताउनुभयो ।
सञ्चालक समिति,लेखा समिति तथा उपसमितिको काम कर्तव्य,अधिकार र योग्यता, व्यवसायीक आचारसंहिताका विषयमा संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले प्रशिक्षण दिनुहुने भएको छ ।
संस्थाले गतवर्षमा गरेका कामको समिक्षा र चालुवर्षमा संचालन गर्ने कार्यक्रम तर्जुमा गर्न तीनदिने कार्यशाला गोष्ठीको आयोजना गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।
सहकारी संस्थाले रेडियो हाम्रो पहुँचसहित बचत तथा ऋण, सहकारी पेट्रोलपम्प, हाम्रो पहुँच विद्यालय, डेरी उद्योग संचालन गरिरहेको छ भने करिब ९० जनालाई प्रत्यक्ष रोजगार प्रदान गरेको छ ।