काठमाडौं – नेपालका पूर्व कप्तान पारस खड्काले लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारसलगायत आठ खेलाडीलाई टिममा स्वागत गरेको जनाएको छ ।
ट्वान्टी–२० स्वरूपमा खेलाइने यस प्रतियोगिताको दोस्रो संस्करण यसपटक भारतमा हुने जनाइएको छ । प्रतियोगितामा चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत सिजन तीन टिम एसिया लायन्स, इन्डिया महाराजा र वर्ल्ड जायन्टले प्रतिस्पर्धा गरेका थिए । यसपटक एक टोली थपिएको छ । पारसले कुन टिमबाट खेल्ने भनेर खुलाइएको छैन ।
लिजेन्ड्स लिग क्रिकेटले आइतबार पारससँगै चामिन्डा भास, लक्ष्मीरतन शुक्ला, मिचेल म्याक्लेनघन, इयान बट्लर, धमिका प्रसाद र इल्टन चिगुम्बुरा र क्रिष्टोफर एमपोफुले प्रतियोगिता खेल्ने टुंगो लागेको जनाएको हो ।
प्रतियोगितामा ११० खेलाडीले खेल्ने जनाइएको छ । अहिलेसम्म ५० खेलाडीको नाम टुंगो लागेको अयाोजकले जनाएको छ । प्रतियोगितामा १५ खेल हुनेछ ।