Aamsanchar

नेपालकाे लगातार दाेस्राे जित, श्रीलंका ३–० ले पराजित

Author Image
बुधवार, साउन ११, २०७९

काठमाडौं – कप्तान आयुष घलान, कृतिशरत्न छोन्जु र मनग्य नकर्मीले गरेको गोलमा नेपालले बुधबार यू–२० साफ च्याम्पियनसिपमा श्रीलंकालाई ३–० ले हराएको छ ।

नेपालले ५८औँ मिनेटमा गरेको गोलबाट अग्रता लिएका थियो । अभिषेक वाइबाले दायाँ कर्नरबाट गरेको क्रसलाई श्रीलंकाका गोलकिपरले पन्च गरेर क्लियर गरेका थिए । जुन बल आयुषको खुट्टामा गएको थियो । रिबाउन्डमा प्राप्त बललाई आयुषले कुनै गल्ति नगरी गोलमा परिणत गरेका थिए ।

६३औँ मिनेटमा कृतिशरत्नले नेपालको अग्रता दोब्बर बनाए । आयुषले दिएको ब्याक पासमा कृतिशरत्नले १८ यार्ड बक्सबाहिरबाट हानेको प्रहार गोलमा परिणत भएको थियो । जारी प्रतियोगितामा कृतिशरत्नको यो दोस्रो गोल हो । कृतिशरत्नले माल्दिभ्सविरुद्धको पहिलो खेलमा पनि गोल गरेका थिए ।

८३औँ मिनेटमा वैकल्पिक खेलाडी मनग्य नकर्मीले तेस्रो गोल थपेका थिए । मनग्यले सुगम सुवालको क्रसलाई पोष्टको दिशा दिएका थिए । मनग्य सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका थिए । मनग्यको पनि यो दोस्रो गोल हो । उनले माल्दिभ्सविरुद्ध पनि गोल गरेका थिए ।

३५औँ मिनेटमा रंगशालाको बत्तीमा समस्या आएपछि केहीबेर रोकिएको थियो । झण्डै पाँच मिनेटपछि खेल पुन: सुरु भएको थियो ।

नेपाल यसअघि पहिलो खेलमा माल्दिभ्सलाई ४–० ले हराएको थियो । जितसँगै नेपाल शीर्ष स्थानमा पुगेको छ । नेपाल र बंगलादेशको समान ६ अंक भए पनि गोलअन्तरमा नेपाल शीर्ष स्थानमा रहेको हो । बंगलादेशले आज साविक विजेता भारतलाई २–१ ले हराएको थियो ।

नेपालले अब आइतबार भारतविरुद्ध खेल्नेछ । श्रीलंकाले माल्दिभ्सविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर