Aamsanchar

युएईमा २८ औं विश्व आदिवासी दिवस मनाइने

Author Image
बिहिवार, साउन १२, २०७९

‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भुमिका’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको २८ औं  विश्व आदिवासी दिवस युएईमा पनि नेपाल आदिवासी जनजाति महासंघ युएईले नेपाली दुतावास अबुधाबीका राजदूत महामहिम कृष्ण प्रसाद ढकालको प्रमुख आतिथ्यमा आगामी १४ अगस्टमा दिन विविध कार्यक्रमका साथ बर दुबई स्थित क्लब एभरेस्टमा मनाउने भएको छ । 

कार्यक्रममा विभिन्न जातिका मौलिक सांस्कृतिक झाँकीको प्रदर्शन, हरेक जातिको मौलिकता झल्कने प्रदर्शनी स्टल एवं मौलिक सांस्कृतिक प्रस्तुति साथै कार्यक्रममा आआफ्नो समाजमा योगदान पुर्‍याउने महासङ्घमा आवद्ध जातीय समाजको सिफारिसमा हरेक समाज बाट एक जना महिला र एक जना पुरुषलाई सम्मान गरिने छ । विगत वर्षहरूमा जस्तै यो वर्ष पनि मिस्टर एण्ड मिस इन्डिजिनियस प्रतियोगिता समेत आयोजना हुने महासंघ कि अध्यक्ष विजय लक्ष्मी राईले बताइन । 

प्रवासी कलाकारहरूको बेजोड सांस्कृतिक प्रस्तुति रहने उक्त कार्यक्रममा एक्स्पो २०२० मा नेपाल पेभिलियनका आयोजक आई ई जी ग्रुपले एक्स्पो २०२० अवधिभर विश्व सामु नेपालको मौलिक संस्कृति झल्काई देशको शिर उच्च राख्दै एक्स्पो २०२० मा नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रवासी कलाकारहरूको गरेको योगदानको कदर गर्दै सम्मान गरिने जानकारी आई ई जी ग्रुपका प्रमुख अमृत रत्न शाक्यले बताए । 

सोही कार्यक्रममा  कोभिड -१९ विश्व महामारीको समयमा समस्यामा परेका नेपालीहरूलाई राहत तथा उद्धारका निम्ति  स्थानीय प्रशासनसँग समन्वय गरि कोभिड प्रभावित नेपाली समुदायको सेवामा अहोरात्र खट्ने स्वयंसेवकहरु लाई समेत सम्मान गरिने कार्यक्रम संयोजक डम्बर लिम्बुले जानकारी दिए । 

विश्व आदिवासी दिवस ९ अगस्टमा मनाइने भए पनि प्रवासमा सबैको अनुकुलतामा नेपाल आदिवासी जनजाति महासंघ युएईले हरेक वर्ष आयोजना गर्दै आएको थियो। तर कोभिड  १९ को महामारीका कारण दुई वर्षको अन्तरालमा यो वर्ष २८ औँ अन्तराष्ट्रिय विश्व आदिवासी दिवसको अवसरमा कार्यक्रम आयोजना हुन लागेको हो ।

 

Views: 696

प्रतिक्रिया (०)

सम्बन्धित खबर