Aamsanchar

आहा रारा गोल्डकपमा आयोजकलाई घाटालागेकाे दाबी

Author Image
शनिवार, साउन १४, २०७९

कास्की : पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा तीन लाख ४७ हजार ८०० रुपैयाँ  घाटा लागेको आयोजकले जनाएको छ।

आयोजक सहारा क्लब पोखराले शनिबार पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो। प्रतियोगितामा विभिन्न प्रायोजन तथा सघंसंस्थाबाट कुल आम्दानी ६६ लाख ४१ हजार १८१ भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ खर्च भएको क्लबले जनाएको छ ।

अर्थ सङ्कलन उपसमिति संयोजक सुनिल गुरुङले कोभिड–१९ का कारण सेमिफाइनल र फाइनल खेलमा बाहेक बिना दर्शक खेलाइएको बताए। प्रतियोगितामा १२ लाख ६२ हजार आठ सय २६ नोक्सान भए पनि सहारा हङकङबाट पाँच लाख एक हजार, सहारा युकेबाट तीन लाख र सहारा अष्ट्रेलियाबाट एक लाख रुपैयाँ थप सहयोग प्राप्त भएकाले नोक्सान कम भएको उनले जानकारी दिए।

प्रतियोगितालाई मुख्य प्रायोजक हिमश्री फुड्स्बाट १३ लाख ५१ हजार, गण्डकी प्रदेश खेलकुद परिषदबाट पाँच लाख, राष्ट्रिय खेलकुद परिषदबाट चार लाख ९२ हजार रुपैयाँसहित विभिन्न संघसंस्थाबाट सहयोग प्राप्त भएको थियो ।

यसैगरी खेलाडी दैनिक भ्रमण खर्चमा २७ लाख ४८ हजार एक सय ५०, टिम प्रोत्साहन खर्च १७ लाख ९३ हजार नौ सय ५०, रेफ्री खर्च चार लाख २६ हजार ८८५ रुपैयाँ र प्रचारप्रसार तथा आयोजक टिम तयारीलगायत शीर्षकमा अरु खर्च भएको क्लबले जनाएको छ।

गत वर्ष माघ ६ देखि १५ गतेसम्म २० औँ संस्करणको प्रतियोगिता सञ्चालन भएको थियो ।

प्र​तियोगिताको उपाधि सशस्त्र प्रहरीको नेपाल एपीएफ फुटबल क्लबले जित्दा मनाङ मर्स्याङ्दी फुटबल क्लब उपविजेता बनेको थियो। सहाराले फुटबल प्रतियोगिता आयोजनाबाट संकलित रकमबाट सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 297

प्रतिक्रिया (०)

सम्बन्धित खबर