

सप्तकोसी । सप्तकोसी नदीमा आएको बाढी पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले राहत पठाएको हो । बुधवार सप्तकोसी नदी पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका पाँच वटा वडाको मानवबस्तीमा प्रवेश गरेर तहसनहस पार्दा १५ सय घरपरिवार विस्थापित भएका छन् । विस्थापितलाई सरकारले उद्धार गरेर सुरक्षित स्थानमा सारिसकेको छ ।

मन्त्रालयले पीडितका लागि खाद्यान्न लगायत राहतका सामग्री पठाइसकेको मन्त्री केदार कार्कीले बताए । मन्त्री कार्की भन्छन्, हामी यहाँका नागरिकलाई खानले मर्न दिन्नौँ, सरकार उद्धार र राहतको काममा जुटिरहेको छ । स्थानीय सरकारले नागरिकलाई सुरक्षित ठाउँको पहिचान गर्ने तथा सङ्घ संस्था लगायत सबै नागरिक जिम्मेवार बनेर विपद्को प्रतिकार्यमा जुटौँ ।
बुधवार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, सडक पूर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की सहित उदयपुर सुनसरी, मोरङका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहका जनप्रतिनिधिहरू घटनास्थलमा नै पुगेर सरकारी संयन्त्रलाई परिचालित गराई विपद्मा फसेकाहरूलाई उद्धार गराएका हुन् ।

अहिले कोसीले बाँध भत्काएर मानवबस्ती प्रवेश गरेको स्थानमा २०४५ साल अघि कोसी बग्ने बग्थ्यो । २०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरी पूर्वतर्फ धकेलिएपछि स्थानीयले २०५१ सालदेखि घर बनाएर बस्न थालेका थिए ।

