

आइसल्याण्डको राजधानी रेकजाविकमा अघिल्लो वर्ष फुटेको ज्वालामुखीबाट पुनः एकपटक लाभा निस्किरहेको छ । फागराडाल्सफाल माउन्टेनमा रहेको यो ज्वालामुखीले यतिबेला विश्वका विभिन्न स्थानका पर्यटकलाई आकर्षित गरिरहेको छ । यो लाभा हेर्नका लागि हजारौंको संख्यामा मानिसहरु आइरहेका छन् । यस्तै, अर्कोतर्फ वैज्ञानिकले यो बिस्फोटले धर्ती भित्र अर्को नयाँ ढोका खोलिदिएको बताएका छन् । जुन धर्तीको मेन्टल (Mantle) सँग सिधा जोडिएको छ ।

ज्वालामुखी रेकजाविकको केफ्लाविक विमानस्थलबाट ३२ किलोमिटर मात्रै टाढा छ । हरेक विमानले उडान भर्नु अघि र अवतरणको समयमा मानिसहरुलाई यताबाट घुमाएर लगिरहेका छन् । सोसल मिडियामा फोटो–भिडियो भाइरल भइरहेका छन् । तस्बिर सुन्दर त छन् नै तर त्यत्तिकै भयावह पनि । पहिला ज्वालामुखी एउटै स्थानबाट निस्किरहेको थियो तर अब ढोका खोलिएपछि विभिन्न स्थानबाट लाभा निस्किरहेका छन् ।


रेक्जेनेस पेनिन्सुला, आइसल्याण्ड को गेल्डिंगाडालुरमा ज्वालामुखीबाट फुटेको लाभा प्रवाहलाई हेरिरहेका पैदलयात्रीहरू ।


ज्वालामुखीबाट निस्किरहेको लाभा र धुँवाको मुस्लोमा पनि फ्लाइट रद्द भएका छैनन् । विमानस्थल पनि खुला छ । यो ज्वालामुखी पाँच दिन अघि हल्का भूकम्पपछि बिस्फोट भएको थियो । त्यतिबेलादेखि लगातार लाभाको नदी बगिरहेको छ । बिस्फोट त्यसै स्थान वरिपरि भइरहेको छ जहाँ अघिल्लो वर्ष मार्चमा भएको थियो । अघिल्लो वर्ष पनि लगातार थुप्रै महिनासम्म लाभा बगिरहेको थियो ।
वास्तवमा आइसल्याण्ड उत्तरी अटलान्टिकको ज्वालामुखीय इलाकामाथि बसेको छ । यहाँ हरेक चार–पाँच वर्षको अन्तरमा यस्ता खालका ठूला बिस्फोट भइरहन्छन् । सबैभन्दा खतरनाक बिस्फोट सन् २०१० मा भएको थियो । यो बिस्फोट Eyjafjallajökull volcano मा भएको थियो । धुँवा र धुलोको बादल वायुमण्डलसम्म पुगेको थियो । यसको कारण युरोप र उत्तरी अमेरिकामा उडान बन्द भएको थियो ।
श्रोत:एजेन्सी

