Aamsanchar

निहारिकाको मुद्दा फितलो बन्दै, प्रेम सम्बन्ध रहेको शिवराजले स्वीकारे, भने ‘डीएनए परीक्षण गर्न रेडी छु’ 

Author Image
सोमवार, साउन ३०, २०७९

काठमाडौं । जलेश्वरकी निहारिका राजपुत (सोनालीकुमारी सिंह) ले बलात्कारको आरोप लगाएका धनुषा क्षिरेश्वरनाथ नगरपालिका-३ महेन्द्रनगरका शिवराज श्रेष्ठले आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका छन् ।

न्यूज २४ को कार्यक्रम ‘सिधाकुरा जनतासँग’ कुरा गर्दै शिवराजले निहारिकाको माग अनुसार नै आफू डीएनए परीक्षण गर्न तयार रहेको बताएका हुन् । उनले निहारिकासँग भएको बच्चा आफ्नो नभएको दाबी पनि गरे ।

उनले भने, ‘निहारीकाले जुन माग उठाइरहेका छन्,  मेरो डिएनए टेस्ट गर्नुपर्ने माग उठाइरहेका छन्, म रेडी छु । उसलाई डिएनए टेस्ट गराउनु छ भने प्रक्रिया अगाडि बढाउनुपर्ने नि । काठमाडौंमा अनसन बसेर मात्रै त हुँदैन । सुरुदेखि नै डिएनए टेस्ट गराउन रेडी छु भन्दै आएको छु ।’

निहारिकासँग आफ्नो प्रेम सम्बन्ध भएको पनि शिवराजले स्वीकारे । उनले भने, ‘उसको (निहारिका)  र मेरो प्रेम सम्बन्ध थियो । साथीबाट सुरुमा चिनेका थियौँ । पछि कुरा हुँदै गयो । हाम्रो प्रेम पनि बस्यो । साढे तीन-चार महिना हाम्रो प्रेम सम्बन्ध चलेको थियो ।’

२१ वर्षीया निहारिका आफूमाथि बलात्कार भएको भन्दै २९ महिनादेखि न्याय मागिरहेकी छन् । आफू १७ वर्षकी छँदा नै शिवराजले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

०७६ कात्तिक ६ गते धनुषा क्षिरेश्वरनाथ नगरपालिका–३ महेन्द्रनगरका शिवराज श्रेष्ठले बन्धक बनाएर बलात्कार गरेको भन्दै उनले ०७६ फागुन १९ गते जिल्ला प्रहरी कार्यालय धनुषामा दर्ता गराएकी थिइन् ।

जाहेरी दर्तापछि शिवराज पक्राउ परेका थिए । पुर्पक्षका लागि जेल चलान पनि भएका थिए । ०७८ माघ २४ मा जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले निहारिका बलात्कृत नभएको फैसला सुनाएको थियो । त्यसपछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटेका थिए ।

शिवराज छुटेपछि निहारिकाले न्यायाधीशले आफूमाथि अन्याय गरेको भन्दै जिल्ला अदालत धनुषामा अनसन बसिन् । प्रहरीको हस्तक्षेपपछि उनको अनसन बिथोलियो ।

उनले फागुन १२ गते उच्च अदालत जनकपुरमा मुद्दा पुनरावेदन गरेकी छन् । र, अहिले उनी काठमाडौंमा न्याय माग्दै भौतरिरहेकी छन् । आफ्नो बच्चाको डीएनए परीक्षण गर्नुपर्ने र आफूलाई बलात्कार गर्नेमाथि कारवाही हुनुपर्नेलगायतका माग राख्दै आएकी छन् ।

गत असार दुई गते सरकार र निहारिकाबीच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षण गर्ने, उनको र छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह र महिला बालबालिका मन्त्रालयमार्फत पहल गर्ने, निहारिकाको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने, न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति भएको थियो ।

सरकारले उक्त सहमति पालना नगरेपछि उनी फेरि अनसन बसिन् । साउन २२ गते सर्वोच्चले अदालतको गेटमा अनसन बस्न गइन्, त्यहाँबाट प्रहरीले हटायो । त्यसपछि सिंहदरबारको दक्षिण गेटमा आमरण अनसनमा बसेकी उनलाई प्रहरीले नियन्त्रणमा लियो ।

चित्कार कसैले नसुनेपछि उनी आत्मदाहको प्रयास समेत गरिन् । गत शुक्रबार उनले राष्ट्रपति भवन अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । एक बोतल पेट्रोल आफ्नो शरिरमा खन्याइन् । अर्को बोतल खन्याएर शरीरमा आगो लगाउने योजनामा थिइन् । तर, उनलाई प्रहरीले देख्यो । र, बचायो ।

उनको काखमा अहिले झण्डै दुई वर्षको बच्चा छ । ‘कुमारी’ आमा बनेयता निरन्तर कानुनी लडाइँ लड्दै एकल जिम्मेवारीमा बच्चा हुर्काइरहेकी छन् । उनलाई माइतीबाट पनि साथ छैन । बच्चा जन्माएपछि परिवारले घरबाट निकाले । र, अहिलेसम्म घरमा प्रवेश पाएकी छैनन् । राज्यले पनि उनीप्रति खसौ चासो देखाएको छैन । साभार : न्युज २४

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 335

प्रतिक्रिया (०)