Aamsanchar

स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसे पछि फोहार बोकेका गाडी बञ्चरेडाँडा नपुग्दै रोकिए

Author Image
मङ्गलवार, साउन ३१, २०७९

 

काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । बञ्चरेडाँडा वरपरका वासिन्दाले अवरोध कायमै राखेकाले फोहोरका गाडी अगाडि बढ्न नसकेको एक स्थानीयले जानकारी दिए ।

‘काठमाडौंबाट आएका सबै गाडी नुवाकोटको आलेटार र सिसडोलमै अड्किएका छन् । अगाडि-पछाडि प्रहरीका गाडी पनि छन् । तर स्थानीयको अवरोधका कारण गाडी अघि बढ्न सकेका छैनन् ।’ ती स्थानीयले भने ।

उनका अनुसार स्थानीयहरु हातमा ढुंगा बोकेर डाँडामा बसेका छन् । केही युवाहरु सडकमै छन् भने केही स्थानीयहरु धानखेत, मकैबारी लगायतका स्थानमा बसेर गाडी जान दिएका छैनन् ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार फोहोर लैजान नदिनका लागि डाँडा, खोल्चा(खोल्ची लगायत सबै ठाउँमा स्थानीय भेला भएर बसेका छन् । थप सुरक्षाकर्मी नपुगेसम्म फोहोर जान सक्ने अवस्था अहिले छैन ।

महानगरले मंगलबार २ सय ५० गाडी फोहोर लोड गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार ४०–५० जना प्रहरी बञ्चरेडाँडामै छन् । आवश्यक परे ब्याकअप फोर्स खटाउने तयारी भइरहेको नुवाकोटका एसपी रमेश पण्डितले जानकारी दिए ।

बन्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले अवरोध नगर्ने सहमती

Views: 296

प्रतिक्रिया (०)