बैतडी – सुदूरपश्चिममा बुधबार ओल्के पर्व मनाइँदैछ। सुदूरपश्चिममा ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु यो पर्वको विशेषता हो।
यस्तै सागपात, अन्न, दुध, दही, घिउ,गूड र पक्वान्न आदि मान्यजन र आफन्त कहाँ लगेर भेटघाट गर्न जाने चलन छ। भदौ १ गते बिहानै धुहाइधुवाइ गरी विभिन्न परिकार बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आफन्तलाई दिने पनि गरिन्छ।
वर्षापछि संकटबाट बचेको र नवजीवन प्राप्त भएको खुसियालीमा यस क्षेत्रमा ओल्को मनाउने चलन रहेको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। धेरैजसो ठाउँमा मन्दिरमा अन्न चढाई ओल्को हाल्छन्। गुठियारले इष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउने गर्छन्। यो पर्व यस भेगका बासिन्दाको मौलिक तथा तथा जेठो पर्व रूपमा रहेको छ। यसलाई सिंह संक्रान्ति पनि भनिन्छ।
पण्डित दयाकृष्ण पन्त ठूलालाई सम्मान र सानालाई माया गर्नु यो पर्वको विशेषता भएको बताउँछन्। ‘ओल्को उपहार लिनु दिनुमा मात्रै नभई संस्कृति, परम्परा र आस्थाको रूपमा पनि चिनिन्छ।’
ओल्के संक्रान्तिताका सतरति (सातरातको झरी) पर्छ भन्ने विश्वास गरिन्छ। यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैँसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने विश्वास गरिन्छ। प्रकृतिमा नयाँ नयाँ किसिमका वनस्पति र किरा फट्यांग्रा देखिनुका साथै धुलो धुवा र फोहोर पखालिन्छ र पाखा पखेरामा नवधार (पानीका नया मुहान) फुट्न थाल्ने पनि विश्वास छ।
बूढी हाल्ने
ओल्के संक्रान्तिका दिन गाउँ नजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ।
यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ। यो बूढीलाई असोज संक्रान्तिका साँझ प्रत्येक घर–घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको पण्डित दयाकृष्ण पन्तले बताए। यस लाई द्वापरकालिन मथुराकी पुतनाको कथासँग जोडिन्छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा र भारतको कुमाउँ गढवालतिर मात्रै यो ’बूढी पोल्ने’ पर्व मनाइने गरिएको पण्डित भने, ‘घरबाट आगोको राँको निकाल्दा पूरै घरलाई घुमाएर निकाल्ने गरिन्छ, घरबाट चिरेको काँक्रो लगेर पोलेको बूढीमा थुक्ने गरिन्छ।’
यसरी बूढी पोलेमा वर्षभरि लुतो लगायतका रोगव्याधिबाटपरिवारजन मुक्त हुने मान्यता छ। भगवान् कृष्णलाई पुतना राक्षसीले विषालु स्तनपान गराएको प्रसंग धार्मिक ग्रन्थमा आउँछ। श्रीकृष्णले स्तन चुसेर मारेपछि पुतनाको भयानक रूप पैदा भएको तथा उसको शव लाई हटाउन नसकेपछि गोकुलवासीले टुक्राटुक्रा पारेको दिनको सम्झनामा भदौ १ गते बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन छ।