Aamsanchar

सत्ता गठबन्धनको मुख्य घटक नेकपा एस सुनसरीमा दर्जनौँ आकांक्षी

Author Image
आइतवार, भदौ ५, २०७९

इनरुवा । नेकपा एकीकृत समाजवादी सुनसरीका तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुने दर्जनौँ आकाङ्क्षीहरूको दौडधुप सुरु भएको छ ।

सुनसरीमा प्रतिनिधिसभाका ४ निर्वाचन क्षेत्र र प्रदेशसभाका ८ निर्वाचन क्षेत्रमा निर्वाचन हुनका लागि ९२ दिन बाँकी रहँदा राजनीतिक दल भित्र उम्मेदवारको चर्चा सुरु भएको हो ।

सत्ता गठबन्धनभित्रको मुख्य घटक नेकपा एकीकृत समाजवादीका तर्फबाट सुनसरीका सबै निर्वाचन क्षेत्रमा आकाङ्क्षीहरूको ठुलो लर्को देखिएको छ ।

नेकपा एकीकृत समाजवादीले भदौ १५ गतेभित्र जिल्ला र प्रदेश कमिटीले सिफारिस गरेर उम्मेदवारहरूको नाम केन्द्रमा पठाउन सर्कुलर जारी गरेपछि जिल्लामा आकाङ्क्षीहरूको दौडधुप बढेको हो ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सांसदका लागि सो पार्टीका केन्द्रिय सदस्य जीवन राईको सशक्त दाबेदारी प्रस्तुत गरेका छन ।

सोही निर्वाचन क्षेत्रमा प्रदेशसभा क तर्फ केन्द्रीय सदस्य सुष्मा राई र नेपाल दलित संगठन सुनसरी अध्यक्ष अमृता रामदान, प्रदेशसभा ख तर्फ धरान अध्यक्ष रेवतीरमण राई र केन्द्रिय प्रतिनिधि परिषद सदस्य लक्ष्मण चौधरी आकांक्षी रहेका छन ।  

यसैगरी सुनसरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसदका लागि सो पार्टीका पोलिटब्युरो सदस्य धर्मराज निरौला उम्मेदवार बन्ने सूचीमा रहेका छन । सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ जिल्ला अध्यक्ष गोविन्द निरौला र ख तर्फ केन्द्रिय प्रतिनिधि परिषद सदस्य शम्भुप्रसाद आचार्य आकांक्षी रहेका छन ।

सुनसरी क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सांसदका लागि सो पार्टीका केन्द्रीय सदस्य केशव विष्ट आकांक्षी रहेका छन । सोही क्षेत्रको प्रदेशसभा क तर्फ इटहरी इन्चार्ज केवल फुयाल शुभान गिरी, इटहरी अध्यक्ष गणेश बुढाथोकी र ख तर्फ जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत आकांक्षी रहेका छन ।

सुनसरी क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सांसदका लागि सो पार्टीका पोलिटब्युरो सदस्य महफुज आलम अन्सारी, केन्द्रीय सदस्य केशव तिम्सिना र केन्द्रीय परिषद सदस्य डा. सीएन पाठक आकाक्षL रहेका छन ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा क तर्फ प्रदेश सदस्यहरू परमानन्द पौडेल, बाबुराम बराल र ब्रह्मदेव यादव आकाङ्क्षीका दाबेदार रहेका छन । प्रदेशसभा ख तर्फ जावेद आलम, कदमलाल उराँव र कलिम मियाँ दाबेदार रहेका छन ।

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा भित्रसमेत उम्मेदवारका आकाङ्क्षीहरूको चर्चा सुरु हुन थालेको छ ।  

आगामी २०७९ मंसिर ४ गते चुनावमा गठबन्धन गरेर जाने तयारी भइरहदा जिल्ला तहमा भने सवै निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवारहरुको चर्चाले चुनावी माहौल तताएको छ । 

नेकपा एकीकृत समाजवादीका नेता केशव विष्टले पार्टी केन्द्रको कार्यतालिका अनुसार भदौ १० गते भित्र उम्मेदवारहरूको नाम सिफारिस गरेर प्रदेशसभा निर्वाचन कमिटी, प्रतिनिधिसभा निर्वाचन कमिटीले र भदौ १५ भित्र जिल्ला कमिटीले पठाइ सक्नुपर्ने समय सिमा रहेकाले उम्मेदवार बुन्नेहरूको चर्चा हुन स्वभाविक भएको बताए । 

Views: 340

प्रतिक्रिया (०)