Aamsanchar

भद्रपुरको एक विद्यालयमा नक्कली विद्यार्थी देखाएर लाखौं रुपियाँ हिनामिना गरेको खुलासा

Author Image
बिहिवार, भदौ ९, २०७९

झापाको एक सरकारी विद्यालयले नक्कली विद्यार्थी देखाएर लाखौं रुपियाँ हिनामिना गरेको खुलासा भएको छ ।
भद्रपुर नगरपालिका–४ मा रहेको जनकल्याण आधारभूत निम्नमाध्यमिक विद्यालयले नाम दर्ता गरी भर्ना भएको भन्दा दोब्बर विद्यार्थी संख्या देखाएर लाखौं रुपियाँ हिनामिना गरेको हो ।

कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १ सय ७३ जनाको हाजिरी देखाएको फेला परेको छ । शैक्षिक सत्र शुरु भएपश्चात् जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरे पनि भदौ महिनाको शुरुआतीदेखि हाजिरीअनुसार ४७ जनाको मात्र हाजिरी गरिएको छ । जसअनुसार कक्षा १ मा २३ जना, २ मा २५, ३ मा २५, ४ मा २४, ५ मा २२, ६ मा २६ र ७ मा २८ विद्यार्थीको नाम दर्ता भए पनि सक्कली ४७ जना विद्यार्थी मात्र रहेको हाजिरी पुस्तिकाले देखाएको छ ।

विद्यालयका शिक्षकहरु प्रधानाध्यापकले हाजिरी पुस्तिकामा दर्ता भएका सबै विद्यार्थीको हाजिरी गराउन निर्देशन दिने गरेको बताउँछन् । सक्कली विद्यार्थी थोरै भए पनि भद्रपुर नगरपालिकाको शिक्षा शाखामा रेकर्ड पठाउँदा शतप्रतिशत हाजिरी गराएर पठाउने गरेको शिक्षकहरुको भनाइ छ । विद्यालयमा दरबन्दी कायम राख्नका लागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले स्वीकार्नुभयो । विद्यार्थीको खाजाबापत आउने रकमलाई कम्प्युटर शिक्षक सुशन तामाङलाई ६ हजार, अङ्ग्रेजी शिक्षक नीता किस्कु, नेपाली शिक्षक तमन्ना राजवंशी र गणित शिक्षक भुवन बस्नेतलाई थप जनही ५ हजारका दरले मासिक रकम दिने गरेको उहाँले बताउनुभयो ।

विद्यालयको हाजिरीपुस्तिकाअनुसार प्रतिदिन एक विद्यार्थी बराबर आउने खाजा खर्चबापत १५ रुपियाँका दरले ४७ जनाको रकम ७ सय ५ हुनुपर्नेमा रेग्मीले दैनिक २ हजार ५ सय ९५ रुपियाँ भद्रपुर नगरपालिकाको शिक्षा शाखाबाट लिने गरेको देखिएको छ । विद्यालयको तथ्यांकअनुसार प्रतिदिन १ हजार ८ सय ९० रुपियाँ भष्ट्राचार गरेको देखिएको छ । थप रकमको विषयमा हेड सरले तलबबाहेक कुनै पनि थप रकम नदिएको शिक्षकहरुको भनाइ छ ।

उहाँले अभिभावक सहयोग भन्दै प्रतिविद्यार्थी १ सय ५० रुपियाँका दरले भर्ना शुल्क लिएको, स्थान्तरण प्रमाणपत्र ५ सय रुपियाँलगायतका शीर्षकमा भएको खर्चको बिलबिजक देखाउन सक्नुभएन । नक्कली विद्यार्थी देखाउन नपाइने नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल बताउनुहुन्छ । शिक्षा शाखामा कर्मचारी अभाव भएका कारण अनुगमन गर्र्न नसकिएको उहाँको भनाइ छ ।

नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन भएको पुष्टि भएमा नियमअनुसार कारबाही गरिने भुजेलले बताउनुभयो । नक्कली विद्यार्थी देखाएर विद्यालय सञ्चालन गरेको पुष्टि भएमा ठाडो कारबाही हुने नगर उपप्रमुख राधा कार्की पनि बताउनुहुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 336

प्रतिक्रिया (०)