विराटनगर – पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–४ मा आइतबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर को ३८ प ५९५० नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैँचा–४ का २९ वर्षीय कुमार राईको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए । उनका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३३२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई दिउँसो १:२५ बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका राईलाई उपचारका लागि सामुदायिक अस्पताल इटहरी लगियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर् याइएको थियो । राईको उपचारकै क्रममा दिउँसो २:१५ बजेतिर मृत्यु भएको प्रनि कार्कीले बताए । टिपरको ठक्करबाट मोटरसाइकल सडकछेउको नालीमा परेको थियो । टिपर पनि सोही नालीमा पल्टिएको प्रहरीले जनाएको छ । माथिबाट टिपरले किचिरहेको अवस्थामा मोटरसाइकल भेटिएको हो ।
टिपर चालक सुनसरीको इटहरी उपमहानगरपालिका–१ का ३७ वर्षीय राजकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । टिपरको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


