Aamsanchar

माओवादी केन्द्रले प्रदेश १ मा पुराना अनुहारलाई समानुपातिकको सिफारिसमा नदोहोर्‍याउने

Author Image
सोमवार, भदौ १३, २०७९

विराटनगर – नेकपा (माओवादी केन्द्र)ले प्रदेश १ मा पुराना अनुहारलाई समानुपातिकको सिफारिसमा नदोहोर्‍याउने भएको छ।

आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सामानुपातिक उम्मेदवारको सिफारिस गर्दा माओवादीले यसअघि प्रत्यक्ष र समानुपातिकमा सिफारिस भइसकेका व्यक्तिलाई नदोहोर्‍याउने भएको हो।

आगामी निर्वाचनको समानुपातिक सूचीका लागि पुरानालाई सिफारिस नगर्न माओवादीले मातहतका समितिलाई सर्कुलरसमेत गरेको छ। पार्टीको प्रदेश १ कमिटीको विराटनगरमा आइतबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। ‘प्रत्यक्ष र समानुपातिकमा एउटै व्यक्तिको नाम सिफारिस गर्न पाइने छैन,’ सर्कुलरमा उल्लेख छ, ‘समानुपातिक उम्मेदवारको नाम सिफारिस गर्दा ‘क्लस्टर’ मिलाएर गर्नुपर्ने छ र हालसम्म प्रत्यक्ष वा समानुपातिकबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य भइसकेकाको नाम समानुपातिक उम्मेदवारमा सिफारिस गर्न पाइने छैन।’ सर्कुलरमा सबै उम्मेदवारहरूको
सिफारिस सूची भदौ २० गतेभित्र प्रदेश कार्यालयमा पठाइसक्न पनि निर्देशन दिइएको छ।

एउटा मात्र संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा जिल्ला संयोजकले बैठकको संयोजन गर्ने र एकभन्दा बढी संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा संघीय निर्वाचन परिचालन समिति प्रमुखले बैठकको संयोजन गर्ने तथा जिल्लाले सहयोग गर्नुपर्ने निर्णय पनि गरेको छ।

त्यस्ता बैठकले सम्बन्धीत संघीय निर्वाचन क्षेत्रमा रहेका पार्टी केन्द्रीय सदस्यहरू, प्रदेश पदाधिकारीहरू, सांसदहरू, जिल्ला समन्वय समितिका पदाधिकारीहरू, पार्टीका प्रदेश सदस्य, प्रदेश निर्वाचन परिचालन समितिका प्रमुख, संघीय र प्रदेश निर्वाचन क्षेत्रका इन्चार्ज र संयोजकहरूको संयुक्त बैठकमा सर्वसम्मत भए एक जना र नभएमा बढीमा तीन जना प्रतिनिधिसभा उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने उल्लेख छ।

यस्तै बैठकले झापा गौरादह नगरपालिकाका अध्यक्ष डण्डीराज घिमिरे, उपाध्यक्ष सुलोचना राजवंशी र सचिव शेरबहादुर कार्कीले दिएको राजीनामा स्वीकृत पनि गरेको छ।

उक्त समितिको बैठक बहालवाला उपाध्यक्षको नेतृत्वमा बसी पदाधिकारीको चयन प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएको हो।

यस्तै ताप्लेजुङ जिल्लाका प्रदेश सदस्यहरूको कार्यविभाजनमा असन्तुष्टी जनाई उक्त जिम्मेवारीबाट राजीनामा बुझाउने विजय प्रकाश वनेम, लक्ष्मी आङछाङ्बो, ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाको राजीनामा पनि स्वीकृत गरेको छ। उनीहरू प्रदेश सदस्यमा भने यथावत रहेको माओवादी केन्द्रले जनाएको छ।

 

Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर