भारतको एक फलफूल व्यापार गर्दै आएको कम्पनीका सञ्चालक ३ महिनाअघि २ केजी मुस्ताङी स्याउ बोकेर सिहंदरबार छिरे । ती व्यापारीहरूले तत्कालीन कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवलाई भेटे ।
उनीहरूले साथमा लगेको मुस्ताङी स्याउ मन्त्री यादवलाई चखाउँदै ‘कहाँको स्याउ’ हो भन्दै प्रश्नसमेत गरे । यादवले हाँस्दै ‘कश्मीरी स्याउ हो, म पनि खाइरहन्छु’ भन्दै ती व्यापारीलाई जवाफ फर्काए ।
कृषिमन्त्रीले नै आफ्नै देशमा उत्पादन भएको स्याउको स्वाद थाहा नपाएपछि ती व्यापारीहरू एक–अर्कोलाई हेर्दै अकमक्क परेको भेटघाट कार्यक्रममा सहभागी कृषि मन्त्रालयका एक कर्मचारीले बताए । भारतीय व्यापारीहरूले मुस्ताङी स्याउ भारत हुँदै तेस्रो देशमा व्यापार गर्न सकिने विषयमा मन्त्रीसँग छलफल गरेका थिए । ती कर्मचारीका अनुसार व्यापारीहरू मुम्बईका थिए ।
उनीहरूले मुस्ताङी स्याउका बारेमा अध्ययन गरेर फर्किएको हुनसक्ने उनको अनुमान छ । रसिलो र स्वादिलो स्याउको राजधानी मानिने हिमालपारीको जिल्ला मुस्ताङमा उत्पादन हुने स्याउ पछिल्लो समयमा नेपाली बजारमा मात्र होइन भारतीय बजारमा समेत व्यापार हुन थालेको छ ।
मुस्ताङी स्याउ भारतीय व्यापारीले मात्र होइन जर्मनी, हङकङ, कतार र मलेसियाका केही फलफूल कम्पनीले खेतीमा लगानी गर्दै व्यापारका लागि कृषि मन्त्रालयसँग प्रस्ताव गर्दै आएका छन् ।
नाम मात्रको स्याउ–जोन
सरकारले मुस्ताङलाई स्याउ जोनका रूपमा परिभाषित गरी अनुदानका कार्यक्रम उपलब्ध गराउन थाले पनि त्यहाँ उत्पादन भएको स्याउको बजार प्रवर्द्धन गर्न सकेको छैन । हिमालपारीको जिल्ला मुस्ताङमा २०२७ सालदेखि स्याउ फल्न थालेको कृषि मन्त्रालयले जनाएको छ । भरियामार्फत फाट्टफुट्ट रूपमा मात्रै मुस्ताङका स्याउ शहर ल्याउने गरिएको थियो ।
पोखरासम्म पुग्ने मुस्ताङका स्याउ कश्मीरी र चिनियाँको दाँजोमा विस्तारै धेरै ग्राहकको रोजाइमा पर्न थालेको कृषि मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा बताउँछन् । मुस्ताङमा उत्पादित स्याउ काठमाडौं, नारायणगढ, बुटवल, बागलुङ, कुस्मा, पोखरा, नेपालगञ्ज र भैरहवासहित स्वदेश तथा विदेशका बजारमा अहिले पाउन थालिएको छ । तर, यहाँ उत्पादन भएको स्याउ ढुवानीका कारण समयमै बजारमा ल्याउन किसानले सकेका छैनन् ।
पछिल्लो समय उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ, घमीलगायत क्षेत्रमा समेत स्याउ उत्पादन हुन थालेको छ । मुस्ताङको टुकुचे, कोबाङ, मार्फा, जोमसोम, ठिनी, स्याङ, कागबेनी, ताङ्बे, छुसाङ र मुक्तिनाथ क्षेत्रमा स्याउ उत्पादन हुन्छ ।
यहाँका किसानहरू अन्य खेती छोडेर स्याउ खेतीमा लाग्न थालेका छन् । मुस्ताङमा ३ हजारभन्दा धेरै परिवार स्याउ खेतीमा निर्भर रहेको कृषि मन्त्रालयले जनाएको छ । मुस्ताङको १ हजार २ सय हेक्टर जमिनमा अहिले व्यावसायिक रूपमा स्याउ खेती भइरहेको कृषि मन्त्रालयले जनाएको छ । करिब ९ सय हेक्टर जमिनमा रोपिएको स्याउको बोटबाट किसानले उत्पादन लिन थालेको मुस्ताङ कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवदेनमा उल्लेख छ ।
मुस्ताङमा गोल्डेन, रोयल र रेड डेलिसियस, रिचारेड तथा फुजी डेलिसियस जातका स्याउ उत्पादन हुने गरेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार मुस्ताङी किसानले वार्षिक ७ हजार ५ सय मेट्रिकटन स्याउ उत्पादन गर्दै आएका छन् ।
अहिलेको बजार भाउका हिसाबले ८० करोडदेखि १ अर्ब रुपैयाँको स्याउ मुस्ताङबाट हरेक वर्ष बजारमा पुग्ने गरेको कृषि मन्त्रालयको तथ्यांक छ । मुस्ताङबाट प्रतिकिलो १ सयका दरले खरिद गरेको स्याउ काठमाडौंसहितका शहरमा ३ सय रुपैयाँभन्दा माथिमा बिक्री हुने गरेको व्यापारीहरू बताउँछन् ।
नेपालमा वार्षिक सात अर्ब रुपैयाँभन्दा धेरैको स्याउ आयात हुने गरेको छ । नेपालमा भित्रिने स्याउ धेरै भारतको कश्मीरबाट आउने गरेको कृषि मन्त्रालयले जनाएको छ । मुस्ताङी स्याउ भण्डारणका लागि ‘कोल्डस्टोर’को योजना पनि गण्डकी सरकारले अघि सरेको छ । ‘कोल्डस्टोर’ सञ्चालनमा आएपछि मुस्ताङी स्याउको बजार अझ फस्टाउने अपेक्षा गरिएको छ । सरकारले कृषिका उत्पादन विदेशी बजारमा पुर्याउन र व्यापार गर्न बेग्लै संयन्त्र बनाउनुपर्ने कृषिविज्ञ हरि दाहाल बताउँछन् ।
स्वदेशमै आफ्नो उत्पादन किनेर खाने वातावारण निर्माण गर्नुपर्ने र विदेशी वस्तु आयातलाई निरुत्साहित गर्नुपर्ने उनको भनाइ छ । ‘मुस्ताङमा उत्पादनमा भएको अर्ग्यानिक स्याउ स्वादिलो र स्वास्थ्यका दृष्टिकोणबाट पनि राम्रो छ । त्यही भएर विदेशी बजारमा पनि यो स्याउको माग बढ्दो छ’, उनले भने, ‘नेपालमा उत्पादित कृषिका वस्तु विदेशी बजारमा व्यापार गर्न सके अर्थतन्त्रमा पनि सहयोग पुग्छ । तर सरकारले अहिलेको व्यापारका नीतिमा परिवर्तन गर्नुपर्छ ।’
सरकार निर्यातभन्दा आयातमा जोड गरिरहेको र आफ्नो उत्पादनभन्दा अरुको उत्पादन भित्र्याउन बढी चासो देखाएको उनको आरोप छ । साभार : शिलापत्र