काठमाडौं । प्रिमियर लिग फुटबलमा मंगलबार राति भएको खेलमा चेल्सी साउथह्याम्पटनसँग २-१ ले पराजित भएको छ ।
साउथह्याम्पटनको मैदानमा चेल्सीले पहिले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा सिजनको पहिलो हार बेहोर्नु पर्यो ।
खेलको २३ औं मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर, अग्रता लामो समय टिकेन । २८औं मिनेटमा रोमिओ लाभियाले साउथह्याम्पटनका लागि बराबरी गोल फर्काए ।
एडम आम्स्ट्रङले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै साउथह्याम्पटनलाई २-१ को अग्रता दिलाए । त्यही अग्रता कायम राख्दै साउथह्याम्पटनले खेल जित्यो।
जितपछि पाँच खेलबाट ७ अंक जोड्दै साउथह्याम्पटन सातौं स्थानमा उक्लेको छ । समान अंक रहे पनि चेल्सी आठौं स्थानमा झरेको छ ।
मंगलबारै राति भएका अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हराएको छ भने क्रिस्टल प्यालेस र ब्रेन्टफोर्डले तथा लिड्स र एभरटन १-१ गोलको बराबरी खेलेका छन् ।