

दैलेख : दैलेखको भैरवी गाउँपालिका–५ बाट एक गर्भवतीको नेपाली सेनाको हेलिकप्टरको प्रयोग गरी उद्धार गरिएको छ। ९ महिनाको गर्भ रहेकी गाउँपालिका–५ की सुनिता विष्टको सेनाको हेलिकप्टरबाट आज उद्धार गरिएको हो।

रक्तस्राव बढेपछि गर्भवतीलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए। उनका अनुसार सेनाको हेलिकप्टरबाट उद्धार गरिएकी गर्भवतीको प्रदेश अस्पताल कालागाउ सुर्खेतमा उपचार भइरहेको छ।
भैरवी गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट वीरेन्द्रराज शाहीले दैलेखमा अप्रेसनको सुविधा नभएका कारण गर्भवतीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाउन परेको बताए।

‘बच्चा जन्मिनुअघि गर्भवतीको अत्यधिक रक्तस्राव भएको थियो, अत्यधिक रक्तस्राव हुँदा अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने हुन्छ, जिल्ला अस्पताल दैलेखमा अप्रेसनका लागि एनेस्थेसिया नहुँदा सुर्खेत पठाउनु परेको हो’, हेल्थ असिस्टेन्ट शाहीले भने।
स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख थिरप्रसाद रेग्मीले दैलेखमै बिरामीको अप्रेसन हुँदै आएको बताए। उनले एनेस्थेसिस्ट भनेर छुट्टै कर्मचारी उपलब्ध नभए पनि डाक्टरबाट अप्रेसन हुँदै आएको जनाए।


