

इलाम : नेकपा (एमाले) उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिनिधिसभाको निर्वाचनका लागि इलाम क्षेत्र नं २ बाट सिफारिस भएका छन्।

आउँदो मंसिर ४ गतेको निर्वाचनमा नेकपा एमालेले पाँचौँपटक नेम्वाङलाई उम्मेदवार बनाउन लागेको हो। नेकपा एमाले इलाम क्षेत्र नं २ क्षेत्रिय कमिटीले एकल उम्मेदवारको रुपमा नेम्वाङको नाम सिफारिस गरेको पार्टीका जिल्ला उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।
२०५६ सालबाट इलाम क्षेत्र नं २ मा जित्दै आएका नेम्वाङले २०६४ र २०७० मा संविधानसभा अध्यक्षको पद समेत सम्हालिसकेका छन्।

२०५६ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गरेका नेम्वाङले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका केशव थापालाई पराजित गरेका थिए।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका महासमिति सदस्य भेषराज आचार्यलाई हराउँदै नेम्वाङले इलाम क्षेत्र नं २ मा ह्रयाट्रिक गरेका थिए। २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङले नेपाली कांग्रेसका केशव थापालाई दोश्रो पटक पराजित गरे।
नेम्वाङले ३६ हजार ५ सय १७ मत ल्याएका थिए भने थापाको २६ हजार ८ सय ६५ मत आएको थियो।
इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माई नगरपालिकाको वडा ६, ७ र ८ तथा फाकफोकथुम, माङ्सेबुङ र चुलाचुली गाउँपालिका रहेका छन्। गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले इलाममा नगर प्रमुख र उपप्रमुख जित्दा चुलाचुलीमा अध्यक्ष जितेको थियो।
नेकपा एमालेले फाकफोकथुम र माङसेबुङका अध्यक्ष र उपाध्यक्ष जित्दा चुलाचुलीमा उपाध्यक्ष जितेको थियो। नेम्वाङकै क्षेत्रमा पर्ने माई नगरपालिकाको ३ वटा मध्ये २ वटा वडा जितेको थियो।
वडा नं ७ मा उनकै पुर्व स्वकिय सचिव बुद्धि खनालले वडाध्यक्ष जितेका थिए। स्थानीय तह २०७९ को मत परिणाम अनुसार नेम्वाङको क्षेत्रमा वडाध्यक्षहरुको मत जोड्दा एमालेको ३२ हजार ५२७ मत छ। यता गठबन्धन दलहरु काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको मत जोड्दा ३६ हजार ५६२ मत हुन आउँछ।
एमालेले क्षेत्र २ (क) बाट पनि गणेशप्रसाद बरालको एकल नाम सिफारिस गरेको छ। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुखसमेत रहेका बराल जिल्लाका सालिन नेता मानिन्छन्। यो क्षेत्रबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै रामबहादुर रानामगर विजयी बनेका थिए।

