Aamsanchar

काँकडभिट्टा इलाका प्रहरी कार्यालयको फेरियो काँचुली 

Author Image
शनिवार, भदौ १८, २०७९

मेचीनगर । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको भवन मेचीनगर नगरपालिकाले आफ्नै ‘एस्काभेटर’ प्रयोग गरेर भत्काइदिएको छ । सुविधा सम्पन्न नवनिर्मित भवनबाट कार्यालयले सेवा प्रवाह गर्न थालेका कारण नगरपालिकाले २०३६/२०३७ सालमा बनेको पुरानो र जीर्ण अवसथामा रहेको भवन भत्काइदिएको हो । प्रहरीले ४२ वर्षपछि सुविधा सम्पन्न भवन पाएको हो ।

२०७५ साल चैत १९ गते मंगलबार १ नम्बर प्रदेश सरकारका तात्कालिन आन्तरिक मामिला तथा कानुन हिक्मतकुमार मन्त्री कार्कीले भवनको शिलान्यास गर्नुभएको थियो । सुविधा सम्पन्न अढाई तले र २२ कोठे पक्की भवनको निर्माण सम्पन्न भएपछि कार्यालयले सेवा प्रवाह गर्न थालेको प्रहरी नायव उपरीक्षक ‐डिएसपी) ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो । तर, भवनको औपचारीकरुपमा उद्घाटन हुन भने बाँकी नै छ ।

१ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बजेटबाट ३ करोड ६२ लाख ४५ हजार ४ सय ५ रुपैयाँ भएपनि २ करोड ५० लाख ७४ हनार ९ सय ४ रुपैयाँमा याक्थुङ्गहाङ एस.ए.एस. पुस्कर जे÷भी निर्माण कम्पनिसँग ठेक्का सम्झौता भएको थियो । २०७६ बैशाख २ गते सम्झौता भएर २०७७ बैशाख १९ गते निर्माण कार्य सम्पन्न गर्ने उल्लेख भएपनि विविध कारण समयमै भवन निर्माण सम्पन्न हुन नसकेको नभएको याक्थुङ्गहाङ एस.ए.एस. पुस्कर जे÷भी निर्माण कम्पनिका प्रतिनिधि योगेन्द्र खड्काको भनाई छ ।

नोवल कोराना भाईरस कोभिड १९ को संक्रमणका कारण निर्माणमा समस्या देखिएको भन्दैं थप ६ महिनाको समय अवधि थप गरिएको थियो । थप गरिएको समय वितिसक्दा सम्म भवन पूर्णरुपमा निर्माण भईसकेको थिएन् । समयमै नयाँ भवन निर्माण नभएपछि पुरानो भवनबाटै दैनिक कार्य सम्पादन गर्न प्रहरी बाँध्य थियो । अहिले भने त्यो बाँध्यबाट प्रहरीले मुक्त पाएको छ । जीर्ण भवनबाट काम गर्नुपर्दा जोखिम मोल्नुका साथै दैनिक कार्य सम्पादनमा समस्या हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।

यस कार्यालयको कार्यक्षेत्र र जनघनत्व ठूलो छ । कार्यक्षेत्र ठूलो रहेको हुँदा पनि दैनिक विभिन्न घटना प्रहरीमा आउने गर्छन् । भवन जीर्ण र अभावमा विभिन्न घटनामा सम्बन्धित व्यक्तिलाई अनुसन्धानमा समस्या थियो । विभिन्न फाँटमा रहेर काम गर्न सकिने गरी २२ वटा कोठामा तयार गरिएको भवन अढाई तले रहेको र सो भवन भूकम्प प्रतिरोधात्मक रहेको प्रहरी नायव उपरीक्षक ‐डिएसपी) ज्ञानकुमार महत्तोले जानकारी दिनुभयो ।

कार्यालयको नाममा रहेको डेढ विगाह जग्गामध्ये करीव ८ देखि १० धुर क्षेत्रफलमा फैलिएको इलाका प्रहरी कार्यालयको भवनमा व्यारेक, प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, महिला पुरुष का लागि सुविधा सम्पन्न हिरासतसहित सवै सेवा एकै ठाउँबाट प्रवाह गर्न सकिने बताइएको छ । शौचालय तथा सेफ्टी ट्याङ्की, स्नान गृहसहितको सुविधा भवन भित्रै छ । झापाको मेचीनगर – ६ काँकरभिट्टामा पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै रहेको कार्यालय नेपालको सीमावर्ती भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज ग्राम पञ्चायतको पानीट्याँकी बजार नजीकै छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाको इतिहासलाई पछाडी फर्केर हेर्दा २०२२ सालमा काँकरभिट्टामा बस्ती बस्न र प्लटिङ्ग हुन थालेपछि २०२३ सालमा प्रहरी हवाल्दारको नेतृत्वमा प्रहरी चौकी नकलबन्दाको मातहतमा रहने गरी अस्थायी प्रहरी पोस्ट निर्माण भएको हो । यसका जानकारहरु पूर्व पश्चिम लोकमार्गको निर्माणसँगै मानिसहरुको उपस्थिती बाक्लो हुँदैं जान थालेपछि स्थानीयले सुरक्षाको माग गरेपछि यसअघि स्थापना भएको प्रहरी चौकी नकलबन्दाको मातहतमा रहने गरी प्रहरी हवाल्दारको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

पछि अस्थायी प्रहरी पोस्ट नै प्रहरी चौकीमा रुपान्तरण भएपछि २०३६÷२०३७ सालमा स्थानीयवासीको श्रमदान, दाताहरुको साथ सहयोगमा यो भवन निर्माण गरिएको जानकारहरु बताउँछन् । इलाका प्रहरी कार्यालयको अभिलेख हेर्दा यहाँ २०३७ सालमा प्रहरी कार्यालयको स्थापना भएको देखिन्छ । २०३७ साल पुस २६ गते तात्कालिन प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाले काँकरभिट्टा थानाको शिलान्यास गर्नुभएको थियो । त्यसै दिनलाई काँकरभिट्टा थानाको स्थापना भएको दिनकारुपमा मान्ने गरिएको प्रहरीको भनाई छ । २०५१ साल असार २१ गतेबाट कार्यालयका प्रहरी निरीक्षक ‐इन्सपेक्टर) को कमाण्डमा प्रहरी टोली बस्न थालेको थियो ।

कार्यालयको अभिलेख हेर्दा पहिलो प्रहरी निरीक्षक ‐इन्सपेक्टर) को रुपमा कर्णबहादुर लिम्बुले नेतृत्व सम्हालनुभएको थियो । प्रहरी निरीक्षक ‐इन्सपेक्टर) ले २०७० साल बैशाख १३ गतेसम्म नेतृत्व सम्हालेका थिए । कार्यालयमा अन्तिम पटक प्रहरी निरीक्षक ‐इन्सपेक्टर) कृष्ण खड्काले नेतृत्व सम्हालेको कार्यालयको अभिलेखले देखाएको छ । काँकरभिट्टामा जनघनत्व बढ्दै जानु र हाल कायम रहेको प्रहरी निरीक्षकको दरबन्दीको स्तरोन्नतिको माग स्थानीयवासीले गरिरहेका थिए ।

यस कार्यालयको सेवा क्षेत्र सुरक्षाको हिसाबले चुनौती र बढ्दो जनघनत्व भएकाले प्रहरी नायबर उपरीक्षकको दरबन्दी र मुद्दा दर्ता लगायतका काम यहीबाट हुने गरी व्यवस्थाका लागि स्थानीयवासीले सम्बन्धित निकायमा दबाब दिइरहेका थिए । त्यसैको परिणामस्वरुप २०७० साल बैशाख ३० गतेबाट कार्यालयले प्रहरी नायव उपरीक्षक ‐डिएसपी) को नेतृत्व पाएको थियो । पहिलो पटक प्रहरी नायव उपरीक्षक ‐डिएसपी) को नेतृत्व गर्ने जिम्मा नलप्रसाद उपाध्यायले प्राप्त गर्नुभएको थियो । अहिलेसम्म १० जना प्रहरी नायव उपरीक्षक ‐डिएसपी) ले आफ्नो कार्यकाल पुरा गरेका छन् भने ११ औँ नम्बरमा हालका प्रहरी नायव उपरीक्षक ‐डिएसपी) ज्ञानकुमार महत्तोले नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ ।

मेचीनगर नगरपालिकाको वडानम्बर १ मा पर्ने पाटापुरदेखि मेचीनगर नगरपालिका वडानम्बर ७ मा पर्ने टुक्रे बाध बंशल टि स्टेटसम्म अन्दाज ३५ किलो मिटर लामो दुरी रहेको नेपाल भारत सीमावर्तीक्षेत्रमा हुने चोरी, तस्करी,रोकथाम नियन्त्रण गर्नु, शान्ति सुरक्षा अमन चयन कायम गर्नु, अपराध नियन्त्रण र अनुसन्धान गर्नु, समाजमा शान्ति सुब्यबस्था कायम गर्नु यस कार्यालयको मुख्यः दायित्व र जिम्मेवारी रहेको प्रहरी नायव उपरीक्षक ‐डिएसपी) ज्ञानकुमार महत्तोको भनाई छ । मेचीनगर नगरपालिकाका १ देखि ८ नम्बर वडाहरु, यस कार्यालयको प्रत्यक्ष जिम्मेवारी क्षेत्र हो भने मेचीनगर नगरपालिकाका ९ देखि १५ नम्बर वडा, बुद्घ शान्ति गाउँपालिकाका सम्पूर्ण वडाहरु इलाका प्रहरी कार्यालय धुलावारीको प्रत्यक्ष जिम्मेवारी क्षेत्र रहेको उहाँको भनाई छ ।

मेचीनगरको पुरुष ६४ हजार ४ सय १० महिला ६७ हजार १ सय १० गरी कुल १ लाख ३१ हजार ५ सय २० जना र बुद्घ शान्ति गाउँपालिको पुरुष २५ हजार २ सय ७६ र महिला २७ हजार ६ सय ३५ गरी कुल ५२ हजार ९ सय ११ जना गर्दा दुई पालिकाको कुल जनसंख्या १ लाख ८४ हजार ४ सय ३१ जनालाई यस कार्यालयले सुरक्षा प्रदान गर्नुपर्छ । तर, कार्यालयमा प्रहरी दरबन्दी भने २ सय १० मात्र छ । यसरी यस कार्यालयमा सक्रिय प्रहरीलाई यो जनसंख्या भाग लगाउँदा एकजना प्रहरीको भागमा ८ सय ७८ जना पर्दछ, अथवा एकजना प्रहरीले ८ सय ७८ जनालाई सुरक्षा प्रदान गर्नुपर्ने अवस्था छ ।

आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आफू मातहत रहने इलाका प्रहरी कार्यालय धुलावारी, बुधबारे, सीमा प्रहरी चौकी नकलबन्दा, प्रहरी चौकी बाहुनडाँगी, तिरीङ्ग, चारआली, ज्यामिरगढी, अस्थायी प्रहरी चौकी सतिघट्टा, इटाभट्टा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा कार्य बिभागको स्थापना गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 497

प्रतिक्रिया (०)