Aamsanchar

आज कागे अष्टमी पर्व मनाइँदै

Author Image
आइतवार, भदौ १९, २०७९

काठमाण्डाै – आज कागे अष्टमी पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा पूजा गरिन्छ ।

कागेश्वरी मन्दिरमा हरियो मकै चढाएमा बारीमा लगाएको मकै कागले नखाने धार्मिक विश्वास समेत छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको ऐतिहासिक, धार्मिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण काठमाण्डौको कागेश्वरी महादेव मन्दिरमा लाग्ने मेलामा देश–विदेशबाट भक्तजनको भिड लाग्छ ।

श्रावण शुक्ल पूर्णिमा र गङ्गा दशहरा पर्वका अवसरमा रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा पुगेका भक्तजनले त्यहाँबाट ल्याएको जल आज कागेश्वरीमा चढाउनुपर्छ । गोसाइँकुण्ड पुग्नेले कागेश्वरीमा जल नचढाए धार्मिक यात्रा पूरा नहुने जनविश्वास रहेको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर–१ मा पर्ने मन्दिर क्षेत्रमा आउनेलाई सहज सुविधा दिन लागिएको छ । मन्दिर जानेलाई यातायात सहज बनाउन नगरभित्र निःशुल्क बसको व्यवस्था गरिएको छ। भक्तजनलाई बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म २० वटा गाडीले निःशुल्क दोहोरो सेवा दिने कागेश्वरी मनोहरा नगरपालिकाका उपमेयर शान्ता थापाले बताउनुभयो ।

नगरपालिकाको मूलपानी, गोठाटार सनसिटी, डाँछीलगायतका ठाउँबाट गाडी छुट्नेछ । गाडीमा ब्यानर नै राखेर सञ्चालन गरिने भएकाले निःशुल्क गाडीको पहिचान गर्न गाह्रो नहुने उपमेयर थापाको भनाइ छ । कागेश्वरी मनोहरा नगरपालिका वडानम्बर १ गागलफेदीमा रहेको कागेश्वरी महादेव मन्दिरसम्म पुग्नका लागि दुई वटा गाडी चढ्नु पर्ने भएकाले ‘कागेअष्टमी मेला’ मा सहभागीको सुविधाका लागि निःशुल्क गाडीको व्यवस्था गरिएको हो ।

मन्दिर परिसरमा २ सय २७ किलोको अष्टधातुबाट बनेको कागको मूर्ति विशेष आकर्षणका रूपमा रहेको छ । यो नेपालकै ठूलो कागको मूर्ति हो । यसै मन्दिरको नाम जोडेर कागेश्वरी मनोहरा नगरपालिकाको नामकरण भएको छ ।

नगरपालिकाले भाद्र शुक्ल अष्टमीका दिन नगरपालिकाभर सार्वजनिक बिदा दिँदै आएको छ ।  कागेश्वरीमा लाग्ने मेला भर्न काठमाण्डौ उपत्यकाका तीन जिल्लाका साथै नजिकका नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रसुवा, दोलखा, रामेछाप, सिन्धुलीलगायत जिल्लाका मानिसको बढी भिड लाग्ने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 328

प्रतिक्रिया (०)