Aamsanchar

 २९ लाख ९९ हजार मूल्य बराबरको लागू औषधसहित कारोबारीहरू पक्राउ 

Author Image
मङ्गलवार, भदौ २१, २०७९

काठमाडौं । काठमाडौंमा अवैध लागू औषध खैरो हेरोइन, गाँजा र नियन्त्रित लागू औषध एम्पुलसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण ब्युरोले मंगलबार भेटघाट गर्दै पछिल्लो पाँच दिन भित्र काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट कारोबारमा संलग्न १५ जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

पक्राउ परेका हरूको साथबाट खैरो हेरोइन २८७.५ ग्राम, नियन्त्रित लागू औषध ब्रुपेनोर्फिन, डाईजेपामफेनारगन गरेर २५२ एम्पल बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए । त्यसैगरी लागू औषधको बिक्री वितरणबाट प्राप्त १० लाख ६२ हजार एक सय रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

त्यस्तै पार्सलको रुपमा अमेरिकाबाट आएको २ किलोग्राम गाँजा र हेरोइन जोख्न प्रयोग गरिने ४ वटा डिजिटल तराजु पनि बरामद गरिएको उनले उल्लेख गरे । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतबाट लागू औषध ऐन अनुसार म्याद थप भएर अनुसन्धान तथा कारबाही भइरहेको उनले जानकारी दिए ।

उनीहरूको साथबाट १७ थान मोबाइल पनि बरामद गरिएको छ । बरामद भएको कुल लागू औषधको अवैध बजार मूल्य २९ लाख, ९९ हजार चार सय रुपैयाँ रहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ ।

Views: 132

प्रतिक्रिया (०)