न्वागीमा छरछिमेकी र नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गरिन्छ । तर, पछिल्लो समय यो पर्व पनि लोप हुने खतरा बढेको छ । धर्म परिवर्तनले उनीहरूको मौलिक परम्परा नै धुमिल बन्दै गएको छ । यो पर्व मनाउने चेपाङ घट्ने क्रममा छन् । राप्ती नगरपालिका–१२, वाकराङका सञ्जीव चेपाङ पछिल्लो समय यो पर्व मनाउनेको सङ्ख्या घट्दो क्रममा रहेको बताउछन् ।
“पहिले धुमधामका साथ यो पर्व मनाइन्थ्यो, अहिले घट्दो अवस्थामा छ”, उनले भने, “पछिल्लो समय धर्म परिवर्तनले झाँक्री लगाएर पूजा गर्ने चलन हट्न थालेको छ ।”
राप्ती नगरपालिकाकै कृष्णलाल चेपाङलाई पनि विगतभन्दा अहिले यो पर्व मनाउने अवस्था फेरिँदै गएको महसुस हुन्छ । “धर्म परिवर्तन गर्नेले मनाउन छोड्दै गएका छन्”, उनले भने । चेपाङ राप्ती नदी उत्तर र त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शङ्खला वरिपरिका रैथाने मानिन्छन् ।
मकवानपुर पश्चिम, चितवनको उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको बसोबास छ । चेपाङको आफ्नै भाषा, संस्कृति र वेषभूषा रहे पनि त्यसको संरक्षण चुनौती बनेको छ । विगतदेखि मान्दै आएको चाडपर्व कतै लोप हुने हो कि भन्ने उनीहरुमा चिन्ता छ ।
चेपाङको जीवन वन जङ्गल र जमिनसँग जोडिएको छ । उनीहरु वन जङ्गल नजिक, भिरालो परेको जमिन र खोला नजिक छरिएर रहेका छन् । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा चेपाङको सङ्ख्या ६८ हजारभन्दा बढी छ । चेपाङको पर्वमा पहिलो पटक बागमती प्रदेशले सार्वजनिक बिदा दिएर सम्मान गरेको छ ।
बुधबार रत्ननगरको गाम बेँसी चेपाङ संरक्षण केन्द्रमा ‘न्वागी’ पर्व मनाइएको छ । चेपाङ बालबालिकालाई आवासीय रुपमा शिक्षा दिँदै आइरहेको संरक्षण केन्द्रले बालबालिकामा संस्कृति संरक्षणका लागि चेतना बढोस् भन्ने उद्देश्यले पर्व मनाइएको केन्द्रका अध्यक्ष केपीकिरण शर्माले बताए ।