विराटनगर – प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन एवं नजिकिँदो चाडपर्वलाई लक्षित गरेर सशस्त्र प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा नियमित गस्ती सुरु गरेको छ । सीमा सुरक्षा तथा चोरी तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्रले भारतसँग सीमा जोडिएका प्रदेश १ का झापा, मोरङ र सुनसरीमा गस्ती गर्न थालेको हो । नजिकिँदो चाडपर्व तथा आगामी मंसिर ४ गतेका लागि घोषणा गरिएको निर्वाचनलाई लक्षित गरेर सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर)को नेतृत्वमा अलगअलग गस्ती टोली परिचालन गरेका छन् । जिल्लागत हिसाबले परिचालित गस्तीको अनुगमनका लागि गिरीले छुट्टै टोली पनि खटाएका छन् । प्रदेश १ मा भारतसँग खुला सीमा रहेका तराईका तीनवटै जिल्लामा नियमित गस्ती सुरु गरेर त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिन थालिएको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रवक्ता एसएसपी विश्व भट्टराईले जानकारी दिए । उनका अनुसार सीमा इलाकाको अनुगमन तथा सीमा क्षेत्रबाट हुने अवैध कारोबार एवं ओसारपसार नियन्त्रणको मुख्य उदेश्य राखेर गस्ती गर्न थालिएको हो । ‘दसैं, तिहार लगायतका चाडपर्व पनि नजिकिँदै छन् । चाडपर्वमा सीमा क्षेत्रबाट चोरी तस्करीलगायत अवैध सामान ओसापसारको सम्भावना बढी हुन्छ,’ एसएसपी भट्टराईले भने, ‘निर्वाचनलाई लक्षित गरेर पनि सुरक्षा सक्रियता बढाउनुपर्ने अवस्था छ । त्यही भएकाले सीमा क्षेत्रमा नियमित गस्ती सुरु गरिएको हो ।’ सशस्त्रको सक्रियताले सीमा अपराध, चाडपर्वका समयमा हुने अवैध गतिविधि तथा नजिकिँदो निर्वाचनमा हुनसक्ने घुसपैठ रोक्न मद्धत पुग्ने उनले बताए । सशस्त्रले दुई देशीय सीमा क्षेत्रको अवलोकन गरेर सीमास्तम्भको अवस्थाका बारेमा समेत जानकारी लिन थालेको छ । बदलिँदो सुरक्षा चुनौतीलाई मध्यनजर गरेर सीमा क्षेत्रमा शान्ति सुरक्षाको अवस्था मजवुत बनाउन सशस्त्र सक्रिय बनेको भट्टराईको भनाइ छ । उनका अनुसार सशस्त्रको उपस्थिति मजवुत बनाएर सीमा क्षेत्रका जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउनका लागि अपराधजन्य गतिविधि रोक्न सबै उपाय अवलम्बन गरिने छ ।त्यसका लागि लामो दूरीको गस्ती परिचालन गरेर सिमावर्ती क्षेत्रको अनुगमन एवं अवलोकन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको उनले बताए । गस्तीसँगै निर्वाचन लक्षित मजवुत सुरक्षा व्यवस्था, चोरी तस्करी तथा अपराधजन्य गतिविधि नियन्त्रण एवं रोकथाममा मद्धत पुग्ने एसएसपी भट्टराईले बताए । प्रदेश १ मा झापा, मोरङ र सुनसरी गरेर भारतसँग २ सय ६९ दशमलव १२ किलोमिटर खुला सीमा छ ।



