Aamsanchar

विद्यार्थीलाई मौलिक संस्कृतिको पाठ सिकाउँदै सिन्धुलीका विद्यालय

Author Image
आइतवार, असोज २, २०७९

सिन्धुली – सिन्धुलीकाे भगवती माध्यमिक विद्यालयले विद्यार्थीलाई नैतिकता, संस्कार र संस्कृतिमा समेत परिपक्व बनाउने मूल उदेश्यले मौलिक संस्कृतिको पाठ सिकाउन थालिएको छ ।

किताबी ज्ञानले मात्र मानिस कर्तव्य निष्ठ बन्न नसक्ने तथ्यलाई औंल्याउदै भगवती विद्यालयले विद्यार्थीलाई मौलिक संस्कृति सिक्ने अवसर दिएको हाे । कमलामाई नगरपालिका-६ मा अवस्थित भगवती माध्यमिक विद्यालयले प्रत्येक महिनाको अन्तिम मंगलबार विद्यार्थीलाई जातीय पहिचान खुलाउने पहिरनमा स्वेच्छिक रूपले विद्यालय आउन र मातृभाषा बोल्न पाउने अवसर दिएको छ ।

विद्यालयले विगत ३ वर्षदेखि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सम्पूर्ण जात, धर्म, संस्कृति, भाषा र भेष भूषाको सम्मान गर्नुका साथै संरक्षण गर्न सिकाइरहेको छ । मौलिक संस्कृतिका विषयमा नयाँ पुस्ता परिचित हुनुपर्छ भन्ने मान्यताले माध्यमिक विद्यालयले फरक कार्यक्रम संचालन गर्दै आएको जनाएको हो ।

सोही विद्यालयमा महिनाको अन्तिम मंगलबार फरक-फरक भेष भूषामा विद्यार्थी देखिन्छन् । विद्यालयले अभिभावकसँग छलफल गरी महिनाको अन्तिम मंगलबार बालबालिकालाई जातीय पोशाकमा पठाउन आग्रह गरेपछि बालबालिकाहरु विभिन्न जातजातिको भेषभूषामा सजिएर विद्यालय आउने गरेका छन् ।

विद्यालयको पढाइसँगै विद्यार्थीले आफ्नो संस्कृति, भेषभूषा, भाषा लगायतका कुरामा जानकार राख्न र विद्यालयमा शिक्षा मात्रै होइन धर्म र संस्कृतिको बारेमा समेत ज्ञान सोही अभियानको थालनी गरिएको भगवती माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण उप्रेतीले बताउनुभयाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)